इनरुवा, साउन ६ गते । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले देशमा अझै पनि दिगो शान्ति र स्थायित्वका लागि पार्टी एक ढिक्का हुनुपर्ने आवश्यकता रहेको बताएका छन् ।
सुनसरीको इनरुवामा शनिबार ४१ औं वीपी स्मृति दिवस तथा काँग्रेस सुनसरीको जिल्ला सम्मेलनमा देउवाले गुट उपगुटको राजनीति त्यागेर समष्टिगत रुपमा देश र जनताप्रति उत्तरदायी हुँदै एक ढिक्का भएर अघि बढ्नुपर्ने बताए ।
“पार्टीभित्रको झिनामसिना विवादहरु आन्तरिक रुपमा मिलाउँदै लोकतन्त्रको रक्षा, दिगो शान्ति र स्थायित्वको पक्षमा लाग्नुपर्ने बेला आएको छ ।” देउवाले भने ।
मुलुकमा बहुदलीय प्रजातन्त्र पुनःस्थापनापछि बनेको काँग्रेस सरकारले जनताका पक्षमा कार्यक्रम ल्याएको भए पनि नेतृत्वले जनताको माझ पुगेर ती कुरा बुझाउन नसक्दा बहुमत ल्याउन नसकिएको भन्दै २०८४ को निर्वाचनपछि एकल रुपमा कांग्रेसको सरकार बनाउनेगरी अभियानमा जुट्न उहाँले पार्टी पंक्तिलाई निर्देशन दिए ।