साउन २, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ की पत्नी सीता दाहालको सम्झनामा श्रद्धाञ्जली सभा गरिएको छ। सीता दाहालको निधन भएको सातौं दिनमा मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा श्रद्धाञ्जली सभा आयोजना गरिएको हो।
श्रद्धाञ्जली सभामा उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, प्रधानन्यायाधीश हरिकृष्ण कार्की, पूर्व प्रधानमन्त्री ,विभिन्न दलका नेता, शुभेच्छुक लगाएत सहभागी भएका थिए।
श्रद्धाञ्जली सभामा प्रचण्डले सीता दाहालको निधनमा समवेदना प्रकट गर्ने सबैलाई धन्यवाद प्रकट गरे। उनले शोकको घडीमा पाएको साथले पीडाबाट निस्कन मद्दत गरेको र थप जिम्मेवार हुन प्रेरित महसुस गरिरहेको उल्लेख गरे। प्रचण्डले सीता दाहाल बिरामी भएपछि राज्यबाट कुनै सुविधा नलिकन हामीले उपलब्ध र लाभदायी हुन सक्ने सबै खालको पद्धतिबाट उपचारको प्रयास पनि गरेको बताए।
प्रचण्डले अन्तिम अवस्थामा आईसीयू वा भेन्टिलेटरमा पीडादायी मृत्युवरण देख्नुपर्छ कि भन्ने चिन्ता रहेको भन्दै बाँच्दासम्म अरूलाई पीडा दिन नजानेकी सीताले मृत्यु पनि निकै शान्त रोजेको बताए। लामो समयदेखि अस्वस्थ सीता दाहालको असार २७ गते काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको थियो।null