असार ३१, काठमाडौं । नेपालको एक मात्र जनकपुर जयनगर ब्रोडगेज रेल सेवा आजदेखि महोत्तरीको भंगहासम्म सन्चालन हुने भएको छ । जनकपुरधामको कुर्थादेखि महोत्तरीको भंगहासम्म थप १७ किलोमिटर दूरीमा संचालन हुन लागेको हो ।
ब्रोडगेज रेल सेवा थप १७ किलोमिटर क्षेत्रफलमा सञ्चालन हुने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए । जनकपुरधामको कुर्थादेखि महोत्तरीको विजलपुरासम्म थप १७ किलोमिटरमा रेल सञ्चालनको शुभारम्भ गर्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला आइतबार जनकपुर जानु हुने भएको छ । अहिले जनकपुरधामदेखि जयनगरसम्म ३४ किलो मिटरमा मात्रै रेलले सेवा संचालन हुदै आएको छ ।
नेपाल रेल्वे कम्पनीले यसका लागि महोत्तरीको भंगहामा रेल सेवाको विस्तारको कार्यक्रम समेत राखेको छ । कुर्था विजलपुरा खण्डमा रेल सेवा सञ्चालन भएपछि ब्रोडगेज रेलको लम्बाई ५२ किलोमिटर पुग्नेछ । रेल्वे विजलपुरासम्म सञ्चालनमा आउने भएपछि सञ्चालनको समयमा पनि हेरफेर गरिएको छ ।
महोत्तरीको विजलपुराबाट बिहान साढे ७ बजे रेल जयनगरका लागि छुट्ने छ । जयनगर हुँदै जनकपुरधामबाट साँझमा विजलपुराका लागि रेल प्रस्थान गर्नेछ ।
भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएको रेलको थप १७ किलोमिटर भागको निर्माण सम्पन्न भएपछि भारतको इरकन कम्पनी लिमिटेडले नेपाल रेल्वे कम्पनीलाई जेठ १८ गते हस्तान्तरण गरेको थियो ।
ब्रोडगेज दुईसेट रेल १९ चैत २०७८ देखि संचालनमा आएको थियो । सुरुमा एकपटक जनकपुरदेखि जयनगर जाने र आउने सेवा दिँदै आएकोक रेल गत वर्ष मंसिरदेखि दुवै रेल दिनको दुईपटक आउने र जाने गरी सेवा दिइरहेको छ ।
सोमबारदेखि थप सेवा विस्तार गरी दैनिक दुवै रेल तीनपटक आउने र जाने सेवा प्रदान गर्ने महाप्रबन्धक झाले बताए ।