असार २९, काठमाडौं । नेकपा एमालेका सांसद पदम गिरीले लम्पी स्किन रोग रोकथाम तथा नियन्त्रणका लागि पशु स्वास्थ्यकर्मी परिचालन गर्न माग गरेका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गिरीले लम्पी स्किनबाट किसानले पालेका पशुचौपाय धमाधम मर्न थालेको भन्दै यथासिघ्र पशु स्वास्थ्यकर्मी परिचालन गर्न सरकारसँग माग गरेका हुन्।
पशुचौपायमा फैलिरहेको रोगप्रति सरकार उदासिन भएको आरोप लगाउदैँ उनले भने, किसानहरू आहालमा डुबेर बसिरहेका छन्। पीडाले रोइरहेका छन्। उनीहरूले कतैबाट सहयोग पाएका छैनन्, यस्तो संवेदनशीन विषयमा सरकार उदासिन देखियो।
सांसद गिरीले ४ महिनाको अवधिमा ८ लाख पशुचौपायहरू संक्रमित भएको र २७ हजार चौपायहरू मरिसक्दा पनि सरकारले रोकथामको पहल नगरेको बताए। सांसद गिरीले सरकारले अहिलेसम्म २ लाख २२ हजार पशुलाई खोप लगाएको र खोप परिणाम पनि अत्यन्त अपर्याप्त रहेको बताए।
‘किसानले अहिलेसम्म ३७ अर्ब बराबरको क्षति व्यहोरेका छन्। जसरी सरकारले गम्भीरता देखाउनुपर्थ्यो,त्यो सकेन। विभागले बजेट छैन भनेर भनिरहेको छ। कार्यालयका हाकिमहरूले बजेट नभएको बताइरहेका छन्,’उनले भने,‘ यदि सरकारसँग पैसा नभएका कारण किसानलाई राहत उपलब्ध गराउन नसकेको हो पनि निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट रकमान्तर गरेर भएपनि राहत दिनुपर्यो।’
सरकारको उदासिनताका कारण किसानले यति ठूलो क्षति व्यहोर्नु परेको उनको भनाइ छ। उनले सो विषयलाई सरकारले गम्भीरताका साथ लिएर भोलिबाट प्रभावकारी ढंगले काम अगाडि बढाउन आग्रह गरे।