असार २९, काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले आर्थिक विधेयक,२०८० र राष्ट्र ऋण उठाउने विधेयक,२०८० बहुमतले पारित गरेको छ ।
बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘प्रतिनिधिसभाबाट सुझावसहित प्राप्त उक्त विधेयक २०८० लाई मूलरुपमै सुझावबिना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव पेस गरेका थिए।
बहुमतले उक्त प्रस्ताव पारित गरेको हो । उक्त विधेयकहरू संशोधन बिना मूल रुपमै पारित भएको छ । बैठकमा राष्ट्रियसभाका सांसदहरुले सुर्तीजन्य वस्तुमा कर बढाउने प्रस्ताव पेस गरेपनि उक्त प्रस्ताव अस्वीकृत भएको थियो ।
त्यसअघि बैठकमा आर्थिक विधेयक २०८० माथि दफावार छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री डा। महतले सुर्तीजन्य वस्तुमा कर नघटाइएको बताए थिए । अहिले पनि नेपालमा सुर्तीजन्य वस्तुमा उच्च कर नै रहेको उनले बताए । उनले करका दर प्रस्ताव गर्दा सकारात्मक र नकारात्मक पक्षको समीक्षा गरिने र सोहीअनुसार संशोधन गर्न सकिने पनि जानकारी दिएका थिए।
अहिले मूल्यवृद्धि घट्दै गएको र सकारात्मक दिशातर्फ मुलुकको अर्थतन्त्र अगाडि बढेको बताए । राष्ट्रियसभाको अर्को बैठक साउन १ गते बोलाइएको छ ।