काठमाडौँ, २७ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी पत्नी सीता दाहालको निधनपछि दुई छोरी रेनु र गंगा दाहाल भावविह्वल बनेका छन् ।
आमाको बुधबार बिहान निधन भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा पुगेका रेणु र गंगा भावविह्वल हुँदै आमाको पार्थिक शरिरसामु रोएका थिए । आमाको निधन भएपछि भरतपुर महानगरपालिकाको मेयर समेत रहेकी दाहाल काठमाडौँ आएकी थिइन् । विमानस्थलबाट सिधै नर्भिक पुगेकी उनी त्यहाँ पुगेपछि भावविह्वल बनेकी थिइन् । यस्तै रेनुकी बहिनीसमेत रहेकी गंगालाई पनि सम्हाल्न कठिन भएको थियो ।
आमाको पार्थिव शरीर नजिक उभिएका उनीहरु आँखामा बलिन्द्र आँशु बनाउँदै ‘आमा…’ भन्दै बेस्सरी रोए । छोरीहरु भावविह्वल बनेपछि नजिकै रहेका बुबा प्रचण्डले छोरीहरुलाई सम्झाउने र सम्हाल्ने प्रयास गरेका थिए । आफूपनि भावुक भएका प्रचण्डले छोरीहरुको काँधमा हात राखेर ‘अब जे नहुनु भयो…म छु तिमीहरुको साथमा…’ भन्दै उनीहरुलाई सम्हाल्ने प्रयास गरेका थिए ।
प्रचण्डको भावुकताका बीच छोरीलाई सम्हाल्दै गर्दाको दृश्य निकै भावुक रहेको थियो । लामो समय पार्किन्सनसम्बन्धी रोगबाट ग्रसित सीता दाहालको विभिन्न अस्पतालमा उपचार भएपनि स्वास्थ्यमा थप जतिलताहरु आउँदा पछिल्लो समय नाजुक अवस्था बनेको थियो । पतिन सिताको स्वास्थ्य अवस्थामा सुधार नआएपछि चिन्तित बन्ने गरेका प्रचण्डले उपत्यकाबाहिर र काममा व्यस्त हुँदासमेत सीतालाई समयमा औषधि खुवाएको–नखुवाएको, स्वास्थ्य अवस्थाबारे जानकारी राखिरहने गरेको सचिवालयका अधिकारीहरु बताउँछन् ।
सीताको उपचारका लागि प्रचण्ड भारतदेखि सिंगापुर र अमेरिकासम्म धाएका थिए । यस्तै देशभित्रै पनि उनले आयुर्वेदिकदेखि विभिन्न उपचार समेत गराएका थिए ।
विक्रमसम्बत २०११ असार २१ गते कास्की जिल्लाको हेम्जामा आमा हरिकला पौडेल र बुवा महेश्वर पौडेलको कोखबाट जन्मिएकी सीता दाहालको २०२६ सालमा प्रचण्डसँग विवाह भएको थियो । विक्रमसम्बत २०२८ सालदेखि नै कम्युनिस्ट आन्दोलनमा आबद्ध सीता जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल नेकपा माओवादी केन्द्र को केन्द्रीय सल्लाहकार रहेकी थिइन्।
पार्टी कामका लागि पञ्चायत कालमा लामो समय भूमिगत जीवन बिताएकी दाहाल जनयुद्ध सुरुवात भएपछि (२०५२ सालदेखि) भूमिगत राजनीतिमा सक्रिय रहँदै आएकी थिइन् । जनयुद्धका आँधीमय वर्षहरूमा सिङ्गो पार्टीको अभिभावकका रूपमा पार्टीभित्रका चुनौती, सङ्कट, विवाद समाधानका निम्ति समन्वयकारी भूमिका दाहालले निर्वाह गरेकी थिइन् ।
हाल भरतपुर महानगरपालिका वडा नं १४ स्थायी ठेगाना भएकी दाहालका चार सन्तानमध्ये जेठी छोरी ज्ञानु दाहालको क्यान्सर र छोरा प्रकाश दाहालको हृदयाघातका कारण मृत्य् भइसकेको छ । दाहालको बुधबार बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा निधन भएको हो ।