२७ असार, काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी दिवंगत पत्नी सीता दाहालको पार्थीव शरीर पार्टी कार्यालय पेरिसडाँडा लगिएको छ ।
६९ वर्षीया दाहालको आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो । सीताको पार्थीव शरीरलाई श्रद्धाञ्जलीका लागि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा राखिने भएको छ । जसका लागि अहिले नर्भिक अस्पतालबाट दाहालको पार्थीव शरीर निकालेर पार्टी कार्यालय लगिएको हो ।
दिउँसो १ बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि दिउँसो २ बजे पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिने भएको छ ।
दाहालको हृदयघात भएपछि बुधबार बिहान ८ बजे नर्भिक अस्पतालमा उपचारकै क्रममा निधन भएको थियो ।
यसअघि दाहाललाई श्रद्धाञ्जलि दिन विभिन्न दलका शीर्ष नेताहरु थापाथलीस्थित नर्भिक अन्तराष्ट्रिय अस्पताल पुगेका थिए ।
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, उपराष्ट्रपति रामशहाय यादव, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई लगायतका नेताहरु दाहाललाई श्रद्धाञ्जलि दिनका लागि अस्पताल पुगेका हुन् ।
दाहालको निधनको खबर थाहा पाएपछि उनीहरू श्रद्धाञ्जलि दिनका लागि अस्पताल पुगेका हुन् । अन्य पार्टीका नेताहरु पनि अस्पताल आउने क्रम जारी छ ।