असार २४, काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले राष्ट्रिय सभाको आजको बैठक पनि अवरुद्ध गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको अभिव्यक्तिलाई लिएर एमालेले निरन्तर राष्ट्रिय सभा र प्रतिनिधिसभा अवरुद्ध गर्दै आएको छ ।
राष्ट्रिय सभाको आजको बैठक साढे १० बजेपछि सुरु भएको थियो । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाको अवरोध हटाउनका लागि राष्ट्रिय सभामा रहेका दलका सचेतकहरूसँग छलफल गरेका थिए ।
एमाले सांसद भगवती न्यौपानेले प्रधानमन्त्रीले राजीनामा दिनुको विलक्प नभएको भन्दै राजीनामा नदिएसम्म संसद् चल्न नदिने बताइन् । उनले प्रधानमन्त्री भारत गएर राष्ट्रघाती सहमति गरेको पनि आरोप लगाइन् ।
मुलुकको स्वाधिनताको विषय भएको भन्दै न्यौपानेले संसद्मा आएर जवाफ दिन र प्रधानमन्त्रीको कुर्सीमा बस्न योग्य नभएकाले प्रधानमन्त्रीले राजिनामा दिनुको विकल्प नभएको बताईन् ।
राष्ट्रिय सभाको अवरोध एमालेसँगै राष्ट्रपतिबाट मनोनित सांसद विमला पौड्याल राई पनि संलग्न भएकी छन् ।
नेपालमा पहिलोपल्ट ट्रक भित्र्याउने व्यवसायी प्रितम सिंहबारे किरणदीप सन्धुले लेखेको पुस्तक विमोचनका क्रममा असार १८ गते दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री दाहालको आलोचना भइरहेको छ । प्रमुख प्रतिपक्षी एमालेले राजीनामा मागेको छ भने रास्वपालगायतका दलहरूले जवाफमा मागेका छन् ।