असार २२, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा गएका बेला भारतीय गुप्तचर प्रमुखसँग भेटेर आएको आरोप लगाएका छन् ।
काठमाडौंमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डले उक्त भेटबारे केही नभनेको आरोप लगाए । उनले प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा गएका बेला भारतीय गुप्तचर प्रमुखकै घरमा गएर बसेको दाबीसमेत गरेका छन्।
भारतीय गुप्तचर प्रमुख नेपालमा आएका बेला आफूले सार्वजनिक रूपमै भेटेको र कुनै कुरा नलुकाएको समेत दाबी गरे । तर त्यतिबेला प्रधानमन्त्री रहेका ओलीले पनि भारतको जासुसी संस्था रअका प्रमुख सामन्त गोयलसँगको भेटबारे जानकारी गराएका थिएनन् ।
२०७७ साल कात्तिक ५ गते सुटुक्क काठमाडौं आएका गोयलले तत्कालीन प्रधानमन्त्री ओलीसहित कस कसलाई भेटे भन्ने त्यतिबेला पनि सरकारले जानकारी गराएन । गोयल फर्किएपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकारले एउटा नोट जारी गरेर गोयलले बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेट गरेको सार्वजनिक गरे । त्यसले यो भ्रमणलाई झन् चर्चामा ल्यायो। भ्रमणको उद्देश्यदेखि प्रोटोकलसम्मका प्रश्न उठे ।
पछिल्लो पटक भ्रष्टाचार प्रकरणमा एमालेलाई जोडेको भन्दै अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा गुप्तचर प्रमुखकै घरमा भेटेको कुरा लुकाएर राष्ट्रहितका पक्षमा कुनै कुरा नगरेको दाबी गरे ।
जे कुरामा पनि नेकपा एमालेलाई दोषी देखाउने काममा लागेको भन्दै ओलीले भारतबाट रअका प्रमुख नेपाल आएर आफुसँग भेट्न खोजेपछि आफुले सार्वजनिक रूपमा भेटेँर कुरा गरेको तर यस पटक प्रचण्ड दिल्ली पुगेर उनको निवासमा गएर लुकेर भेटेको आरोप लगाए ।
उनले भने, गोप्य मन्त्रणा गरेर आउनु भयो । मैले त्यस्तो गोप्य मन्त्रणा गरेको होइन, वहाँ गएर भेटेको होइन । मलाई भेट्न आएको ठाउँमा मैले भेट दिएको हो । जनताको हितको पक्षमा कुरा गरेँ, अहित केही कुरा गरिनँ, उहाँले देशको हितको पक्षमा कुन शब्द उच्चारण गर्नुभयो, के भन्नुभयो, भेटेको कुरा पनि स्वीकार्न सक्नुहुन्न उहाँ,’ ।