विराटनगर, २२ असार । कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री थापालाई शपथग्रहण गराएका हुन् ।
नवनियुक्त मुख्यमन्त्री थापाले दुई मन्त्रीसहित शपथ लिएका हुन् । उनले दुई बिना विभागीय मन्त्रीसहित मन्त्रीपरिषद् विस्तार गरेका हुन् ।
नेकपा एकीकृत समाजवादीबाट पाँचथरका कमलप्रसाद जबेगू र नेपाली कांग्रेसबाट ओखलढुंगाका प्रदीप सुनुवार मन्त्री नियुक्त भएका छन् । उनीहरुको कार्यविभाजन बाँकी रहेकोले बिना विभागीय मन्त्रीका रुपमा शपथ ग्रहण गरेका हुन् ।
सरकारमा जाने नजाने विषयमा नेकपा माओवादी केन्द्रले निर्णय गरेको छैन । सभामुखलाई सरकारको दाबी पेशमा संलग्न गराएको विषयमा माओवादीमा विवाद देखिएको छ ।
सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टी (जसपा)ले भने पहिचानको मुद्दालाई लिखित रुपमा सम्बोधनको सुनिश्चित नगरिकन तत्काल सरकारमा नजाने निर्णय गरिसकेको छ । मुख्यमन्त्री नियुक्त हुनसाथ थापाले बिहीबार प्रदेशको नाम परिवर्तन नहुने बताए । प्रदेशको नाम परिवर्तन र बहुपहिचानसहितको नामकरण जसपाको बटमलाइन हो ।