असार २१, काठमाडौं । सत्तारुढ गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिन नपर्ने निश्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटार बिहीबार बिहान बसेको सत्ता गठबन्धनको बैठकले प्रधानमन्त्रीको राजीनामा माग्ने प्रमुख विपक्षी दल नेकपा एमालेको कदम असंसदीय रहेको पनि ठहर गरेको छ ।
बैठकले एमालेको कदम असंसदीय रहेको भन्दै प्रधानमन्त्री दाहालले राजीनामा दिन नपर्ने निर्णय गरेको बताइएको छ ।
बैठक पछि नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले प्रधानमन्त्रीले बोलेको कुरामा कसैलाई आपत्ति भए संसदमा जवाफ माग्नुपर्ने बताए। उनले प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको बताए।
‘सम्माननीय प्रधानमन्त्रीको प्रमुख प्रतिपक्षी दलले संसदीय दलको बैठकमा राजीनामा नै माग्ने निर्णय गरेको भन्ने कुरा आयो,’ उनले भने, ‘उहाँहरूले गरेको यो निर्णय असंसदीय निर्णय हो। संसदीय पाक्टिसमा प्रधानमन्त्रीले बोलेको कुरामा कसैलाई आपत्ति छ भने संसदमा आवाज उठाउन पाइन्छ। उहाँहरुले भन्नुपर्छ प्रधानमन्त्री ज्यू तपाईंले के बोलेको हो ?’
उनले प्रधानमन्त्रीको कुरै नसुनिकन संसदमा राजीनामा माग्नु गलत भएको बताए। पाण्डेले प्रधानमन्त्री प्रचण्डले संसद् फेस गर्ने जानकारी दिए।
भारतीय नागरिक प्रितम सिंहबारे लेखिएको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री दाहालले नेपालको सरकार निर्माण गर्दा भारतसँग छलफल हुने गरेको सन्देश जानेगरी अभिव्यक्ति दिएका थिए । यो भनाइलाई लिएर नेकपा एमालेले प्रधानमन्त्री दाहालको राजीनामा मागेर बुधबार संसद बैठक अवरुद्ध गरेको थियो । प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसद बैठक चल्न नदिने एमालेको अडान छ ।
पाण्डेले मिटरब्याजीविरुद्धको विधेयक प्रक्रिया पुर्याएर अगाडि बढाउने बताए। उनले भने, ‘उहाँहरू मिटर ब्याज पीडितको पक्षमा होइन। शोषण गर्नेको पक्षमा उभिनुभएको हिजोको तथ्यले प्रमाणित भयो। उहाँहरू जनतालाई जति लुटेपनि हुन्छ भन्ने पक्षमा उभिनुभयो।’
मिटरब्याजी साहुलाई कस्न अध्यादेशमार्फत वैशाख २० गते विधेयक ल्याइएको थियो। ६० दिनमा प्रतिनिधिसभाबाट पारित गरेर कानुन बनाइसक्नु पर्ने थियो। तर, पुष्पकमल दाहाल सरकारले ढिलासुस्ती गरेर बुधबार अन्तिम समयमा पेश गरेको थियो।
गठबन्धनको बैठकमा सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपाका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी, लोसपाका अध्यक्ष महन्थ ठाकुर,जनमतका अध्यक्ष सीके राउत लगायतका नेताहरु सहभागी थिए ।