२१ असार, काठमाडौं । संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजे बस्नेछ ।
राट्रिय सभा बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र खानेपानी मन्त्रालय सम्बन्धी विनियोजन शीर्षकहरुमाथि छलफल हुने कार्यसूचि रहेको छ ।
तर, प्रमुख प्रतिपक्षी दलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विवादित अभिव्यक्तिलाई लिएर बुधबार बिरोध जनाउँदा संसद अवरुद्ध भएको थियो । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामा माग गरेको छ ।
बुधबार बैठक सञ्चालन हुन नसके पछि बिहीबारका लागि बैठक बोलाइएको हो । प्रमुख प्रतिपक्षी दलले प्रधानमन्त्रीले राजीनामा दिनु पर्ने अडान कायमै राखेका छन् ।
एमालेको अबरोधका कारण संसद्का दुवै सदन चल्न नसक्दा मिटरब्याज सम्बन्धी अध्यादेश नै निष्क्रिय भयो । एमालेले संसद अबरुद्ध गरेपछि मिटरब्याजीहरुलाई कारबाही गर्न सरकारले ल्याएको अध्यादेश निष्क्रिय भएको हो ।
सरकारले मिटरब्याजलाई अनुचित लेनदेनका रुपमा कानुनी परिभाषा गरी त्यसलाई दण्डनीय हुने गरी व्यवस्था गर्न मौजुदा कानुनमा संशोधन गर्दै अध्यादेश जारी गरेको थियो ।
कानूनबमोजिम अध्यादेश जारी भएको ६० दिनभित्र प्रतिस्थापन विधेयक संसद्का दुवै सदनबाट पारित भइसक्नुपर्छ । जसअनुसार प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रतिस्थापन विधेयक पेश गर्ने कार्यसूची रहेको थियो । तर बैठक अवरुद्ध भएका कारण यसअघि ल्याइएको अध्यादेश नै स्वतः निष्क्रिय भएको हो ।