असार २०, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिको विरोध गर्दै नेकपा एमालेले राष्ट्रिय सभा अवरोध गरेको छ । बैठक सुरु हुनेबित्तिकै राष्ट्रिय सभामा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले समय लिएर बोल्दै प्रधानमन्त्रीले बोलेको अभिव्यक्ति राष्ट्रलाई नै कमजोर बनाउने खालको भन्दै आपत्ति जनाए ।
नेता देवेन्द्र दाहालले प्रधानमन्त्री दाहालले व्यवसायी प्रितम सिंहको पुस्तक विमोचन गर्ने क्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै तत्काल राजीनामा दिन माग गरेका हुन् ।उनले आफूहरूको सो माग पूरा नभई संसद् बैठक चल्न नदिने अडान राखेका छन् । नेता दाहालले प्रधानमन्त्री दाहालले आफू व्यवसायी सिंहको प्रयासमार्फत भारतको इसारामा प्रधानमन्त्री बनेको अभिव्यक्ति दिएकाले भारतको इसारामा बनेको प्रधानमन्त्री आफ्नो पार्टीलाई स्वीकार्य नहुने पटकपटक दोहोर्याए ।प्रधानमन्त्री आफैंले यो कुरा अभिव्यक्त गर्दा आफूहरू लज्जित भएको उनको भनाई थियो ।
देशको नियम‚ कानुनअनुसार प्रक्रियागत रुपमा प्रधानमन्त्री बन्नुपर्नेमा यो देखाउने कुरा मात्रै रहेछ भन्ने प्रधानमन्त्री आफैंले पुष्टि गरेको उनले बताए । दाहालले भने, ‘यहाँ गणितको कुरा त देखाउने कुरामात्रै रहेछ । त्यसकारण उहाँले तुरुन्तै राजीनामा दिनुपर्छ र मार्ग प्रशस्त गर्नुपर्छ । भारतको इसारामा, भारतको नेतृत्वमा, भारतको संयोजनमा भएको प्रधानमन्त्री हामीलाई स्वीकार्य छैन । त्यसैले प्रधानमन्त्रीले राजीनामा नदिउन्जेलसम्म हामी यो बैठक अवरुद्ध गर्छौं ।’
प्रधानमन्त्री दाहालले नेपालमा पहिलो पटक ट्रक ल्याएका सरदार समुदायका प्रितम सिंहमाथि किरणदीप सन्धुले लेखेको पुस्तक ‘रोड्स टु द भ्यालीः द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ विमोचन कार्यक्रममा दाहालले विवादास्पद अभिव्यक्ति दिएका थिए ।