असार १८ काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी भदौ महिनामा उत्तरी छिमेकी चीनको भ्रमणमा जाने भएका छन्। कैलालीको धनगढीमा प्रेस युनियनले सोमबार गरेको पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्रीको चीन भ्रमण भदौमा हुने जानकारी दिए ।
आगामी सेप्टेम्बर अर्थात् भदौ महिनामा चीन भ्रमणमा जाने गरी प्रधानमन्त्रीको कार्यक्रम तयार भइरहेको छ।
सेप्टेम्बरमा प्रधानमन्त्रीको आसन्न चीन भ्रमणका क्रममा केही उपलब्धि हुनेछ’, उनले भने, ‘उत्तरतिर चीन आर्थिक र राजनीतिक रुपमा पनि उदाएको छ। चीनको विकासको छलाङलाई नेपालमा पनि उपयोग गर्न सक्नुपर्छ।’
साउदले अहिले पनि नेपालले भारतसँग दुईतिहाइ व्यापार गरिरहेको बताएका छन्। ‘सामाजिक र सांस्कृतिक सम्बन्ध पनि छ। पारवहनका लागि चीन र तेस्रो मुलुकबाट हुने व्यापार हिन्द महासागरबाट हुन्छ’, उनले भने, ‘चीन र भारतको उदाउँदो अर्थतन्त्रबाट लाभ लिन सक्छौँ।’
गत जेठ १७ देखि २१ सम्म भएको प्रधानमन्त्रीको भारत भ्रमणमा पनि ठूला उपलब्धि भएको उनले दाबी गरे। ‘भारतले १० हजार मेगावाट बिजुली किन्न तयार छ भनेर एमओयू गरेको छ’, उनले भने, ‘प्रधानमन्त्रीजीको चीन भ्रमण पनि हुँदैछ।’