असार ११ काठमाण्डौँ । सांसदहरुले पशुपतिमा सुनको जलहरीको बिषयमा संसदीय छानविन समिति बनाउनु पर्ने माग गरेका छन् ।
आजको संसद बैठकमा बोल्दै माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेल र कांग्रेसका सांसद प्रदीप पौडेलले पशुपतिको जलहरीमा राखिएको सुनबारे सत्यतथ्य पत्ता लगाएर संसद्मा जानकारी हुनुपर्ने माग गरेका हुन् । सांसद प्रदीप पौडेलले पशुपतिको जलहरी प्रकरणको छानबिन गर्नका लागि संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद प्रदीप पौडेलले भने, ुउजुरी परेको दुई वर्षपछि बल्ल अख्तियारले छानबिन गरेको छ । महाखेलापरीक्षकको प्रतिवेदनमा प्रस्ट आएको विषयलाई अख्तियारले यति ढिलो गरी छानबिन किन गर्यो ? यसको निर्णय प्रक्रिया र कार्यान्वयनका सन्दर्भमा थुप्रै विषय जोडिएका छन् । यसको छानबिनका निम्ति संसद्ले छानबिन समिति बनाओस् र यसले निष्पक्ष छानबिन हुने स्थिति निर्माण होस् ।
संसद्मा यसअघि पशुपतिनाथको जलहरीमा भएको अनियमितताबारे सांसदले बोल्दा रेकर्डबाट हटाउन लगाएको कुराले पनि आमसर्वसाधारणमा सही सन्देश नगएको कांग्रेस सांसद पौडेलको भनाइ थियो ।
माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी लगाउने क्रममा अनियमितता भएको कुरा राखेका थिए । महालेखा परीक्षकको प्रतिवेदन उल्लेख गर्दै राखेको विषयलाई लिएर प्रमुख प्रतिपक्षी एमालेले संसद् बैठक अवरोध गरेको थियो । त्यसपछि छानबिनको चरणमा रहेको विषय भन्दै नीति तथा कार्यक्रम पारित गर्ने क्रममा संसद् अवरोध नहोस् भनेर सत्तापक्ष र प्रतिपक्षबीच सांसद दाहालले बोलेको विषय हटाउने सहमति भएको थियो ।
सरकारको नेतृत्व गरिरहेको माओवादी सांसद देवेन्द्र पौडेलले पशुपतिको जलहरीबारे सत्यतथ्य जान्ने अधिकार संसद्को रहेको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद पौडेलले भने, जलहरीको बारेमा यो सदनमा व्यापक चर्चा भयो । भएको के हो ? त्यहाँ आज पशुपति क्षेत्र विकास कोष, नेपाल प्रहरी, सुरक्षा निकाय, सुनचाँदी व्यवसायी संघ, पुरातत्व विभाग, खानी तथा भूगर्भ विभाग र जनप्रतिनिधिहरूले सुनको खोजी गरेर जोख्दै हुनुहुन्छ । कति सुन हराएको हो ? कति सुनबाँकी छ के स्थिति हो ? यो कुनै ट्रकमा ल्याएको सामग्री जोख्ने कुरा होइन । उनले भनेका छन् ।