काठमाडौं, असार ८ गते । पूर्व प्रधानमन्त्री एबम् नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले पार्टीबाट दुईजना मन्त्री बनाएर क्रान्ति अघि बढ्न नसक्ने ठोकुवा गरेका छन् । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आज आयोजित कार्यक्रममा खनालले पार्टी अध्यक्ष माधवकुमार नेपालप्रति लक्षित गर्दै यस्तो धारणा राखेका हुन् ।
“पार्टी बनाउन पार्टीको गतिविधिलाई श्रमिक जनतासँग एकतावद्ध र गोलवद्ध गर्न जरुरी छ ।” वैचारिक, सैद्धान्तिक दिशालाई पारदर्शी बनाउँदै समाजको ठोस वर्ग विश्लेषण गर्दै अन्तरबिरोधको सही पहिचान गर्ने र प्रधान शत्रुको सही पहिचान गरेर जनतालाई दलाल पुँजीवादबिरुद्ध गोलबद्ध गराउनुपर्ने आवश्यकता रहेकोमा उनले जोड दिए ।
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) भित्र नेता र कार्यकर्ता तहमा ठूलो असन्तुष्टि रहेको चर्चा गर्दै सो पार्टीका कार्यकर्ताहरुलाई पार्टीमा गोलवद्ध गर्न प्रयास गर्नु पर्ने बताए ।
आफूहरु अझै पार्टी निर्माणको चरणमै रहेकाले यसलाई व्यापक बनाएर कम्युनिष्ट आन्दोलनको एटम बनाउनुपर्ने धारणा खनालको छ ।