असार ४, काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालले देश कृषिप्रधान नभएर रेमिट्यान्स प्रधान देश हुन लागिरहेको बताएका छन् ।
सोमबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित समाजवादी मोर्चा घोषणा सभामा बोल्दै नेता खनालले देश बिस्तारै रेमिट्यान्समा निर्भर हुने अवस्था रहेको बताए । ‘कृषिलाई आधुनिकीकरण गर्नुपर्ने थियो, त्यो हुन सकेन । यो अवस्था किन आयो रु हामीले गम्भीर भएर सोच्नेबेला आएको छ । कहिलेसम्म कुन सरकार टिक्छ भनेर घोत्लिनुपर्ने स्थिति छ । आर्थिक रुपमाले देश जर्जर भएर गइरहेको छ । देश कृषिप्रधान होइन, रेमिट्यान्स प्रधान देश हुन लागिरहेको छ,’ उनले भने ।
उनले सबै वामपन्थी शक्तिहरू एकताबद्ध भएर वैकल्पिक शक्ति बनाउनुपर्नेमा पनि जोड दिए ।
नेता खनालले चार दलले समाजवादी मोर्चा घोषणा गरेको भन्दै अब मोर्चाले देशमा रहेका सबै क्रान्तिकारी शक्तिहरूलाई एक ठाउँमा ल्याउन पहल गर्नुपर्ने बताए । विगतमा भएका क्रान्तिले लिएका उद्देश्यअनुरूप प्रतिफल प्राप्त गर्न नसक्दा कम्युनिस्ट पार्टीहरू छताछुल्ल बनेको खनालको भनाई थियो ।
‘हामीले समाजवाद ल्याउने उद्देश्यसहित यो समाजवादी मोर्चा बनाएका छौँ । तर म ध्यानाकर्षण गराउन चाहन्छु कि यो मोर्चा सत्तालाई टिकाउने मोर्चामात्रै नबनोस्,’ उनले अघि भने, ‘यो मोर्चा साँचो अर्थमा सम्पूर्ण वामपन्थीलाई एकताबद्ध बनाउने मोर्चा बन्न सकोस् । यो देशमा रहेका सबै क्रान्तिकारीहरू, स्वाभिमानीहरू, आमूल परिवर्तन चाहनेहरू एक ठाउँमा आउन र ल्याउन सक्ने मोर्चा बनोस् । यो त्यसैका लागि चालिएको पहिलो पाइला हो । समस्त बामपन्थीहरूलाई एकताबद्ध नगरेसम्म देशमा सही विकल्प निर्माण हुन सक्दैन । मोर्चालाई अझै व्यापक बनाउनुपर्ने आवश्यकता छ ।’
उनले देशमा अहिले पनि विगतमा कम्युनिस्ट आन्दोलनले उठाएका समस्याहरू कायम रहेको भन्दै उनले अहिले पनि समाजमा जातीय भेदभाव, महिलामाथि हिंसा, भेदभाव र असमानता रहेको बताए ।
अहिले पनि मिटरब्याजीपीडित किसानहरू जिल्ला जिल्लाबाट राजधानीमा आएर पीडा पोख्न बाध्य छन्,’ उनले भने, ‘हामीले जसरी समस्याहरूलाई किनारा लगाउनुपर्ने थियो, त्यो हुन सकेन, यस्तो किन भयो ?’