सङ्खुवासभा, असार ४ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न सोमबार दिउँसो कोशी प्रदेशका पहिरो प्रभावित जिल्लाको अवलोकन गरेर काठमाण्डौँ फर्किएका छन् ।
सो क्रममा संखुवासभामा संवोधन गर्दै प्रधानमन्त्रीले मेलम्चीमा जस्तै आकस्मिक प्रकोप देखिएको भन्दै वेपत्ताहरुको तत्काल खोजी गर्न, उद्धार र राहत एवं सडक सञ्जाल तत्काल मर्मत गरेर सञ्चालन गर्न सरकारी संयन्त्रलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्रीले तत्कालै सडक सञ्जाल जोड्न बेलिब्रीज, घरबार विहीनलाई तत्काल स्थानान्तरण र भोलिको आवासका लागि व्यवस्था मिलाउन आवश्यकता अनुसार सरकारले तदारुकताका साथ काम गर्ने पनि बताए ।
आइतबार परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी सङ्खुवासभामा एक जनाको मृत्यु भएको थियो भने १८ जनाभन्दा बढी बेपत्ता भएका थिए ।
बाढीपहिरो प्रभावित क्षेत्र अनुगमन गर्न प्रधानमन्त्री दाहाल, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र सहरी विकासमन्त्री सीता गुरुङ हेलिकप्टरमार्फत सङ्खुवासभा पुगेका थिए ।
त्यसपछि बाढी पहिरो प्रभावित पाँचथर र ताप्लेजुङ जाने क्रममा मौसम खराब भएपछि सो स्थलमा नपुगि हेलिकप्टर बिराटनगरमा अवतरण भएको थियो ।
सो स्थानमा पुग्न नसकेपछि प्रधानमन्त्री श्री एयरलाईन्सको विमानबाट काठमाण्डौँ फर्किएका छन् ।