जेठ ३१ काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वामपन्थीहरुको ध्रुवीकरण र एकता गर्ने र समाजवादी मोर्चा बनाएर अघि बढ्ने बताएका छन् ।
पूर्व शिक्षामन्त्री धनीराम (डिआर) पौडेलको चौथो स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो आवश्यकतालाई अगाडि बढाउने गरी तयारी भइरहेको बताए ।
अहिले समाजवादीहरूको बृहत्तर मोर्चा बनाउने र अर्कोतिर वामपन्थीहरूको एकताको विषयमा छलफल भइरहेको उनको भनाई थियो ।
“अबको नेपाली क्रान्तिको समाजवादी बाटो कस्तो भन्ने खोजी गर्दै छौं । सकेसम्म सच्चा वामपन्थतीहरुको ध्रुवीकरण र एकता आवश्यकता छ । र त्यसलाई अगाडि बढाउनुपर्छ भन्ने हामीले सोचिरहेका छौँ ।” प्रचण्डले भने । सुशासनका लागि भ्रष्टाचारका विरुद्ध संघर्ष गर्नुपर्छ भन्ने निष्कर्षका साथ दृढताका साथ अगाडि बढेको प्रधानमन्त्री प्रचण्डको भनाई छ ।
उनले अब भ्रष्टाचारीहरुसँग कुनै पनि खालको सम्झौता नगर्ने भन्दै बरु सरकार छाड्न पनि तयार रहेको बताए ।
कार्यक्रममा गृहमन्त्री एवं पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माओवादी पार्टी पुननिर्माणको आवस्यकता रहेको बताए ।
उनले पार्टी भित्र कसैलाई काखा पाखा नहुने गरी काम गर्न पनि नेताहरुलाई निर्देशन दिएका छन् । सरकार अहिले चौतर्फी घेराबन्दीमा रहेको भन्दै घेरा चिरेर सरकार सफल हुने उनले बताए ।