काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार साँझ विश्वासको मत लिने भएका छन् । नेकपा एमाले सरकारबाट बाहिरिएपनि विश्वासको मत लिन आलटाल गरिरहेका मुख्यमन्त्री यादवले संवैधानिक बाधा टार्न विस्वासको मत लिन लागेका हुन् ।
मुख्यमन्त्री यादवले विश्वासको मत लिने प्रयोजनको लागि मंगलबार साँझ ५ बजे प्रदेशसभाको आकस्मिक बैठक बोलाईएको छ । प्रदेशसभा सचिवालयले मंगलबार साँझ ५ बजे प्रदेशसभाको बैठक बोलाइएको व्यहोराको एसएमएस सांसदहरूलाई पठाएको छ ।
यसअघि,प्रदेशसभाका शतप्रतिशत सांसदको विश्वासको मत पाउनुभएका यादवले सत्तारुढ दल एमाले बाहिरिए पनि सरकारसँग दुई तिहाई सांसदको समर्थन रहेको तर्क गर्दै विश्वासको मत लिन आलटाल गर्दै आएका थिए । सरकारमा सहभागी कुनै एक दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
मुख्यमन्त्री यादवसँग असन्तुष्ट रहँदै सरकारबाट मन्त्री फिर्ता भएको माओवादी (केन्द्र) ले पनि विश्वासको मत दिने जनाएको छ । नेकपा एमालेले भने पक्ष वा विपक्षमा मत दिनेबारे निर्णय गरिसकेको छैन् ।