जेठ २५ काठमाण्डौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालको पछिल्लो युवा पुस्तामा क्रान्तिचेतको कमी देखिएको निष्कर्ष निकालेका छन् ।
पार्टी केन्द्रीय समितिको आजदेखि शुरु भएको बैठकमा पेश गरेको राजनीतिक दस्तावेजमा उनले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रको निम्ति लडेका व्यक्ति र शक्तिहरूको नै क्रमशः स्खलन र भ्रष्टीकरण, व्यवस्था परिवर्तनपछि जनजीवनमा त्यसको अपेक्षित प्रतिफलको अभाव जस्ता कमजोरीले पनि आज संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न कठिन भइरहेको ठहर गरेका छन् ।
उनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक संसद्, जातीय÷भाषिक पहिचानका आधारमा प्रदेशहरूको पुनः सीमाङ्कन र नामाङ्कन लगायतका संशोधन नभएसम्म राजनीतिक अस्थिरता र जनताको असन्तुष्टि कायम रहन्छ भन्ने कुरा अहिले व्यवहारतः पुष्टि हुँदै गइरहेको दाबी गरेका छन् ।
उनले कम्युनिष्टहरुबीच एकता नभए यो शक्ति लामो समयसम्म कायम रहन नसक्ने भन्दै नयाँ जन्मिएको रास्वपाको बैचारिक धार स्पष्ट नभएको पनि बताएका छन् ।