जेठ १४ काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जेठ १७ गतेदेखि हुन लागेको आफ्नो भारत भ्रमणबारे पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र विभिन्न दलका नेताहरूसँग छलफल गरेका छन्।
आइतबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, केपी शर्मा ओली, झलनाथ खनाल, बाबुराम भट्टराईलगायत सहभागी थिए। बैठकमा विभिन्न दलका शीर्ष नेतासँगै पूर्वपराराष्ट्र मन्त्रीहरूको पनि उपस्थिति थियो।
बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई आफूले प्रबुद्ध व्यक्तिको समूह (इपिजी) को प्रतिवेदन बुझ्ने विषयमा, महाकालीको पानी आधा आधा गर्ने र नयाँ विद्युत परियोजना भारतलाई दिने विषयमा सचेत हुन सुझाव दिएको बताए।
नेकपा (एमाले) का उपमहासचिव एंव पूर्वपरराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भैरहवामा हवाई रूट दिने विषयमा छलफल गर्नुपर्ने सुझाव आफूले दिएको बताए।
‘बरू सम्झौता नभए केही बिग्रिँदैन तर नेपालको हितविपरीत हुने सम्झौता नगर्न भन्यौं,’ उनले भने,‘तपाईंले आफ्ना कुरा खुलस्त राखेर विश्वासको वातावरण बनाउनु होला भन्यौं।’
साथै कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भएको स्पष्ट प्रमाणित भएकाले त्यो भूमि नेपालले उपयोग गर्न पाउनु पर्छ भन्ने कुरा दह्रोसँग राख्न पनि सुझाव दिईएको उनले बताए ।
पूर्वपरराष्ट्र मन्त्री रमेशनाथ पाण्डेले सीमा विवाद समाधान गर्न आफूसँग भएका प्रमाण अध्ययन गरेर खुट्टा दह्रो पारेर कुरा गर्नुस् भनेर सुझाव दिएको बताए।
‘त्यसका लागि मैले केही प्रमाणहरू पनि प्रस्तुत गरेको थिएँ,’ उनले भने,‘ पानीका विषयमा केही समझदारी हुन लागेको छ भन्ने सुनेको छु। नेपालको पानी बगेर भारतमै जाने पनि त्यसमा हाम्रो स्वामित्व स्थापित हुनुपर्छ भन्ने हिसाबले कुरा राख्नुहोला।’
पूर्वपरराष्ट्र मन्त्री नारायण खड्काले राष्ट्रिय हितलाई सर्वोपरी ठानेर आत्मविश्वासको साथ आफ्नो कुरा राख्न प्रधानमन्त्रीलाई सुझाव दिएको बताए ।
पूर्वपरराष्ट्र मन्त्री प्रकाशचन्द्र लोहनीले सीमा क्षेत्रमा भारतले बनाएका बाँधदेखि बंगलादेशमा नेपाली बिजुली निर्यात गर्ने विषयमा खुलेर कुरा गर्ने सुझाव दिएको बताए।
‘प्रधानमन्त्रीले सबैबाट आएको सुझावलाई आफूले सकारात्मक रुपमा लिएको र त्यस ैअनुसार कुरा गर्ने बचन दिएका थिए । छलफलपछि पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले सबैले राष्ट्रिय हितलाई केन्द्रमा राखेको सुझाव र टिप्पणी राखेको बताए ।