काठमाण्डौँ । नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले अमेरिकाले राजनीतिक पार्टी नै खोलेर नेपालमा हस्तक्षेप गर्न आईपुगेको बताएका छन्।
शनिबार बागलुङमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महामन्त्री सिंहले विगतमा यहाँका दलका नेताहरुलाई आफ्नो अनुकुल प्रयोग गर्दै आएकोमा अहिले पार्टी नै स्थापना गरेर लागेको बताए।
महामन्त्री सिंहले भने, ‘रास्वपाको निर्माण र उसको विकासमा अमेरिकाको लगानी छ। अमेरिकाले आफ्नो स्रोत साधनको प्रयोग गरेर आफ्नो अनुकुल काम गर्नका लागि राजनीतिक दलमा लगानी गरेको छ।’
जनमतले सधैं सहि फैसला नगर्ने र अहिले रास्वपाले पाएको जनमत पनि त्यसैको परिणाम भएको बताए। ‘सधैं जनमतले सहि निर्णय गर्दैन, अहिले रास्वपाले पाएको मत भनेको अमेरिकाले आफ्नो स्वार्थ अनुकुल प्रयोग गर्नका लागि निर्माण गरिदिएको हो,’ उनी भन्छन्,‘अराजकता मच्चाएर आफ्नो अनुकुल निर्णय गराउन अमेरिकाले दल नै खोलेर अगाडि बढेको छ।’
उनले चीनलाई साईजमा राख्नका लागि अमेरिकाले नेपालको भूमि प्रयोग गर्न खोजेको समेत बताए।
‘देश अहिले गम्भीर संकटमा छ, गणतन्त्र धर्मनिरपेक्षता लगायतका उपलब्धीहरु जोखिममा परेका छन्,’ उनी भन्छन्,‘प्रतिगमनकारीहरु अराजकता फैल्याएर प्राप्त उपलब्धीहरुलाई समाप्त पार्ने दाउमा छन्।’
नेपालको राष्ट्रियतामा गम्भीर खतरा उत्पन्न भएको उनको भनाई छ।