२७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले आज उपप्रधान तथा गृहमन्त्री नायरायणकाजी श्रेष्ठलाई भेटेर भुटानी शरणार्थी प्रकरणमा थालेको अनुसन्धानप्रति ऐक्यवद्धता जनाएका छन् ।
कांग्रेस नेताहरु डा. गोबिन्दराज पोखरेल, गुरु घिमिरे, मधु आचार्य लगायतका नेताहरुले गृह मन्त्रालय पुगेर सरकारले चालेको कदमप्रति ऐक्यवद्धता जनाएका हुन् ।
कांग्रेस नेता बालकृष्ण खाँण पक्राउपछि कांग्रेसकै युवा नेताहरूले गृहमन्त्री श्रेष्ठलाई कसैको प्रभाव र दबाबमा नपरी अनुसन्धान प्रक्रिया अगाडि बढाएर दोषीमाथि कारबाही गर्न सुझाव दिएका हुन्।
साथै उनीहरुले छानबिनलाई निष्कर्षमा पुर्याउन र दोषी जो कोही भए पनि नछाड्न खबरदारी पनि गरेका छन् ।
पक्राउ पुर्जी जारी भएका पूर्वमन्त्री टोपबहादुर रायमाझी भने फरार छ । प्रहरीले बुधबार मात्र पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई पक्राउ गरेको छ । केन्द्रीय सदस्य आचार्य भन्छन्, ‘अहिलेसम्म जुन सत्प्रयास भएको छ, त्यसप्रति ऐक्यवतावद्धता छ । र, बीचमा नतुहियोस् भनेर खबरदारी पनि गरेका छौं ।’
जवाफमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कोहीप्रति आग्रह पूर्वाग्रह नराख्ने र प्रमाणले दोषी देखिएका जो कोहीलाई पनि नछाड्ने बताएका छन् । आफूलाई प्रधानमन्त्रीको पनि पूर्ण साथ रहेको र नेताहरुको ऐक्यवद्धताले थप बल दिएको समेत उनले बताएका छन् ।