वैशाख २७, काठमाडौँ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली सर्वसाधारणबाट पैसा संकलन गर्ने संगठित गिरोहको ठगी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन् ।
भुटानी शरणार्थी प्रकरणसम्बन्धी अपराधमा तानिएपछि काठमाडौं प्रहरी परिसरको टोलीले खाँणलाई आज बिहान मैजुवहालस्थित उनकै निवासबाट प्रहरीले पक्राउ गरेको हो । उनलाई प्रहरी परिसर टेकुमा राखिएको छ । यस अगाडि नै पक्राउ गर्ने चेतावनीपश्चात अनुसन्धानमा सहयोग गर्ने भन्दै काठमाडौं प्रहरी परिसरमा पुगेका थिए। परिसरले खाँणलाई आवश्यक परेको बेला बयानका लागि उपस्थित हुने कागज गराएर छोडेको हो। तर शरणनार्थी प्रकरणमा खाँणकी पत्नी मञ्जुले पनि रकम बुझेको अडियो सार्वजनिक भएको छ। थप अनुसन्धानका लागि प्रहरीले आज पूर्वगृहमन्त्री खाँणलाई पक्राउ गरेको जनाएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस, एमालेका शीर्ष नेता र सरकारी उच्चपदस्थ कर्मचारी संलग्न भएको खुलेपछि पछिल्लो समयमा कारबाही गर्न दबाब परेको छ।
आफू गृहमन्त्री हुँदा खाँणले रोजेका तत्कालीन गृह सचिव टेकनारायण पाण्डेसहित १० जना सबुतसहित पक्राउ परिसकेका छन् । प्रहरी हिरासतमा रहेका नेपाल सरकारका सचिव पाण्डेले पूर्वगृहमन्त्री बालकृष्ण खाँणको समेत नाम लिएका थिए ।
आरोपितहरूको बयानका आधारमा अनुसन्धानमा खाँण तानिएका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मंगलबार काठमाडौंको शंखमूलबाट टोखाका रामशरण केसी र मोरङका गोविन्द चौधरी पनि पक्राउ परेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी रवीन्द्र रेग्मीले बताए।
अहिलेसम्म पक्राउ पर्नेमा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरुङ र एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी छन्। टोपबहादुर रायमाझी लगायत केही फरार रहेका जनाइएको छ।
पक्राउ परेकाहरूले ५ देखि ४५ लाखसम्म रुपैयाँ उठाएर भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने गरेको उनीहरूमाथि आरोप छ।