वैशाख २६, काठमाडौँ । सांसद तथा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारका विरुद्ध फाइल मात्रै होइन फायर खोल्नुपर्ने बताएका छन् ।
भ्रष्टाचारीलाई कडा कारबाहीको नीति राज्यले लिनुपर्नेमा उनको जोड थियो । मंगलबारको प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८०/८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलमा भाग लिँदै सांसद शर्माले भ्रष्टाचारीविरुद्ध कडाइ पूर्वक नीति लिनुपर्ने बताए ।
भ्रष्टाचारीविरुद्ध शून्य सहनशीलता लिने सरकारको नीति रहेको कुरालाई कार्यान्वयनमा लिनुपर्ने बताए । पछिल्लो समय भ्रष्टाचारका फाइल खुलेको कुरालाई निष्कर्षमा पुर्याउनुपर्ने पनि उनको आग्रह थियो । यहिँनेर भुटानी शरणार्थीको सन्दर्भको फाइल खोलिएको छ । यसलाई निष्कर्षमा पुर्याउनुपर्छ भन्ने अपील र आग्रह गर्न चाहन्छु, उनले भने, भ्रष्टाचारका विरुद्ध फाइल मात्रै होइन फायर खोल्नुपर्छ राज्यले ।
भ्रष्टाचारका फाइल खोल्दा र कारबाही प्रक्रिया अगाडि बढाउँदा निर्दोष कोही फस्नुहुन्न, दोषी कोही बच्नु पनि हुन्नु भन्ने दृष्टिकोण लिनुपर्ने शर्माको भनाइ छ ।
सरकारले भ्रष्टाचार निवारण ऐन, २०५९ को संशोधन ऐन र सरकारले ल्याएका नीतिमा विरोधाभाष रहेको पनि शर्माले बताए । अर्थमन्त्रीले एकातिर शून्य सहनशीलताको नीति लेख्नुभएको तर अर्कोतर्फ सरकारले ल्याएको भ्रष्टाचार निवारण ऐन, २०५९ को संशोधनमा भने भ्रष्टाचारको छानबिन गर्नका लागि ५ वर्षको हदम्याद राखिएको छ भन्दै शर्माले यो विरोधाभाषपूर्ण रहेको बताए ।