बैशाख २३ काठमाण्डौँ । नक्कली शरणाार्थी ठगी प्रकरणमा आफ्नो पनि नाम जोडेर समाचार आउन थालेपछि पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर विदेश पठाउने प्रकरणमा पक्राउ परेका उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे खाँण गृहमन्त्री भएका बेला गृहसचिव थिए।
तिनै पाण्डेको वयानका आधारमा खाँडको नाम आएपछि खाँडले विज्ञप्ति नै जारी गरेका छन् ।
पूर्वगृहमन्त्री खाँणले शनिबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘आधारहीन, तथ्यहीन र संलग्न हुँदै नभएका घटनामा संलग्न भयो भन्दै र जाँदै नगएका स्थानमा भ्रमणमा गएको भन्ने समाचारले अन्योल उत्पन्न हुने र व्यक्तिगत चरित्रहत्या हुने हुँदा यस्ता समाचार सम्प्रेषित नगरी दिनुहुन अनुरोध छ।’
उक्त प्रकरणमा केही दिनअघि नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा गृहमन्त्री भएका बेला सुरक्षा सल्लाहकार रहेका इन्द्रजित राई र एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई प्रहरीले पक्राउ गरिसकेको छ भने लुकिछिपि बसिरहेका टोप बहादुरलाई प्रहरीले व्यापक खोजी गरीरहेको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले घटनामा संलग्न जोसुकै नेता वा कर्मचारी भए पनि नछाड्न र समातेर छाड्न प्रहरीलाई निर्देशन दिएका छन् ।