बैशाख २२ काठमाण्डौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा नजाने निर्णय गरेको छ।
शुक्रबार वसुन्धरामा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
गृहसहित महत्वपूर्ण मन्त्रालय पाए सरकारमा जाने बताएका लामिछानेले सो नपाउने संकेत देखेपछि सरकारलार्ई दिएको समर्थन फिर्ता लिएका हुन् ।
गत मंसिर ४ को चुनावपछि सरकारमा सहभागी भइसकेको रास्वपा नागरिकता मुद्दाका कारण गृहमन्त्रीसमेत भइसकेका पार्टी सभापति रवि लामिछानेको सांसद पद गुमेपछि सरकारबाट बाहिरिएको थियो।
माघ १३ गते रविले सांसद पद गुमाएपछि रास्वपा माघ २२ गते सरकारबाट बाहिरिएको थियो। तर रविको राहदानी विवाद पनि रहेको अवस्थामा रास्वपाले फागुन २५ गते भएको राष्ट्रपति निर्वाचनमा सत्ता गठबन्धनलाई सघाएको थियो।
त्यसैगरी प्रधानमन्त्री प्रचण्डले गत चैत ६ गते विश्वासको मत लिँदा पनि रास्वापले साथ दिएर सरकारको पक्षमा उभिएको थियो।