काठमाडौं, २१ वैशाख। एमाले केन्द्रीय सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी पक्राउ परेका छन् । प्रहरीले उनलाई आज भैरहवाबाट पक्राउ गरेको हो । रायमाझीलाई काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ ।
प्रहरीले रायमाझीलाई नक्कली भूटानी सरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा सामेल देखिएपछि पक्राउ पूर्जी जारी गरेको थियो । बुधबार नै प्रहरीले उनका छोरा सन्दीपलाई पनि पक्राउ गरिसकेको छ ।
सोही प्रकरणमा सामेल देखिएका कारण तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापाविरुद्द पनि पक्राउ पूर्जी जारी गरि खोजी जारी राखिएको छ । तर उनी पक्राउ पर्न सकेका छैनन् ।
यस्तैगरी सोही प्रकरणमा सचिव टेकनारायण पाण्डे र तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजीत राईलाई यसअघि नै पक्राउ गरिसकेको छ ।
यसैबीच, नेकपा एमालेले नक्कली शरणार्थी प्रकरणमा मुछिएका पार्टी सचिव रायमाझीमाथिको अनुसन्धानमा सघाउने प्रतिबद्धता जनाएको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले कानुनको कार्यान्वयन गर्न र दोषीलाई कानुनको कठघरमा ल्याउन पार्टीले सहयोग गर्ने नीति रहेको बताए ।
‘हामी छानबिनमा सघाउँछौ,घटनाको गहिराइमा पुग्नुपर्छ भन्ने नै एमालेको प्रारम्भिक धारणा हो’, उपमहासचिव ज्ञवालीले रातोपाटीसँग छोटो प्रतिक्रिया दिँदै भने, ‘दोषीहरू जोसुकै भए पनि कारबाहीको दायरामा आउनुपर्छ ।’
उनले यस्ता घटनामा राजनीतिक रङ्ग दिने काम गर्न नहुने समेत बताए । ‘गल्ती भनेको गल्ती नै हो राजनीतिक रङ्ग दिने काम गर्नु हुँदैन’ ज्ञवालीको भनाइ छ । उनले घट्नाबारे पार्टीले आन्तरिक रूपमा अध्ययन अनुसन्धान समेत गर्ने जानकारी दिए ।