बैशाख १७ , कञ्चनपुर । परराष्ट्रमन्त्री एनपी साउदले नेपाल भारतको सीमा समस्या अब चाँडै समाधान हुने दावी गरेका छन् ।
भारतसँगको सीमा समस्या वार्ताबाटै समाधान हुने र प्रधानमन्त्रीको भारत भ्रमणको तयारी पनि अन्तिम चरणमा रहेको मन्त्री साउदले बताए । नेपाल प्रेस युनियन कञ्चनपुरले आइतबार महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री साउदले सो दावी गरेका हुन् ।
आवासका लागि भूमि र आर्थिक व्यवस्थापन गरेर चाँडै आरक्ष पीडितको समस्या समाधान गरिने पनि उनले प्रतिबद्धता व्यक्त गरे।
‘आरक्ष पीडितको लगत तयार भएको छ, केही छटपुट भए पनि एक हजार ४८० जनाको लगत संकलन गर्ने काम भएको छ’, उनले भने, ‘पीडितलाई आवासका लागि भूमि र आर्थिक व्यवस्थापन गरेर यो समस्या टुंग्याइन्छ।’
मन्त्रिमण्डल विस्तारसँगै उच्च प्राथमिकता दिएर आरक्ष पीडितको समस्या समाधान गर्न पहल गर्ने मन्त्री साउदले विश्वास व्यक्त गरेका थिए ।