पाँचथर बैशाख १६ । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले सडकमा उफ्रेकै भरमा कोशी प्रदेशको नाम खारेज नहुने बताएका छन् ।
तीन दिनदेखि पाँचथरमा रहेका ओलीले शनिबार सदरमुकाम फिदिममा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कोशीको नाम नफेरीने स्पष्ट पारे ।
‘दुई चार जना केटा सडकमा उफ्रँदैमा प्रदेशको नामकरण हुँदैन, सक्छौं भने जनताको मन जितेर दुई तिहाइ मतसहित संसद् छिरेर संशोधन गरेर देखाओ,’ ओलीले भने ।
ओलीले बरु आन्दोलन छोडेर विकास निर्माणमा जुट्न पहिचान पक्षधरलाई सुझाव दिए ।
सोही कार्यक्रममा बोल्दै ओलीले एमालेविरुद्व चौतर्फी षड्यन्त्र र घेराबन्दी भइरहे पनि यसले पार्टीलाई कुनै क्षति नगर्ने दाबी गरे ।
पछिल्लो चार दिनयता आफूविरुद्व कालो झन्डा देखाउने अधिकांश माओवादीका कार्यकर्ता रहेको बुझिएको छ, विरोधले कुनै अर्थ राख्दैन,’ उनले भने । यसअघि जन्मथलो तेह्रथुमको आठराई पुगेका ओलीविरुद्व पहिचान पक्षधरले नाराबाजी गर्दै कालो झन्डा देखाएका थिए । उनलाई झापामा पनि कालो झण्डा देखाईएको थियो ।
एमाले अध्यक्ष ओलीकै जोडबलमा प्रदेश १ लाई जबरस्त ‘कोशी’ नामकरण गरिएको भन्दै पहिचान पक्षधर एमालेविरुद्व आक्रोशित भएका छन्।