बैशाख १६ काठमाण्डौँ । भारतमा उपचाररत नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य चन्द्रकान्त भण्डारी भोली आईतबार नेपाल फर्कने भएका छन् ।
गत फागुन ३ गते राति आफ्नै निवास बुद्धनगरमा ‘ग्यास लिक’ भएर आगालागीबाट गम्भीर घाइते भण्डारी स्वास्थ्य उपचारपछि आइतबार स्वदेश फर्कन लागेका हुन्।
भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत भण्डारी आइतबार दिउँसो २ः५५ बजेको नेपाल वायुसेवा निगमको विमानमार्फत स्वदेश फर्कन लागेको काँग्रेस नेताहरुले जानकारी दिएका छन् ।
पछिल्लो समय नेता भण्डारीको स्वास्थ्यमा सुधार आएको छ। उनी बोल्ने र हिँड्न सक्ने भएका छन् ।
नेपाल फर्केसँगै भण्डारी घरमा बसेर फिजियोथेरापी गर्नुका साथै पोलेको घाउ ड्रेसिङ गर्न अस्पताल जानेछन्। आगलागीमा परी नेता भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए।
उनकी आमा हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा फागुन ४ गते निधन भएको थियो ।