बैशाख १४ पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन्। नेपाली कांग्रेसका २७, नेकपा माओवादी केन्द्रका ७ र नेकपा एकीकृत समाजवादीका १ गरी ३५ जना सांसदको सहयोगमा पाण्डे बिहीबार मुख्यमन्त्री नियुक्त भएका हुन्।
गण्डकी प्रदेश सभामा बहुमतका लागि ३१ जना सांसद आवस्यक पर्दछ । नवनियुक्त मुख्यमन्त्री पाण्डेको शपथ भने शुक्रबार हुने भएको छ। शुक्रबार मध्यान्ह मुख्यमन्त्री पाण्डेलाई प्रदेश प्रमुख पृथ्वीमान गुरूङले शपथ खुवाउने कार्यक्रम तय भएको पाण्डेको सचिवालयले जानकारी दिएको छ।
नेकपा एमाले संसदीय दल नेतासमेत रहेका मुख्यमन्त्री खगराज अधिकारीले गत शनिबार प्रदेश सभाबाट विश्वासको मत नपाएपछि उनको पद गएको थियो। त्यसपछि प्रदेश प्रमुख गुरूङले बिहीबार अपरान्ह ४ बजेसम्म मुख्यमन्त्री दाबी गर्न दलहरूलाई आह्वान गरेका थिए।
संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थन जुटाएर पाण्डे मुख्यमन्त्री नियुक्त भएका हुन्।
पाण्डे गत मंसिर ४ को चुनावमा गोरखा क्षेत्र नम्बर २ को प्रदेश सभा क्षेत्र २ बाट निर्वाचित भएका थिए।