बारा बैशाख १३ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाल सार्वभौमिकता, अखण्डता र एकतालाई तोडेर विखण्डनवादको बीज रोप्नेहरू परास्त भएको बताएका छन् ।
बारा क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा बिजयी भएपछि पत्रकारहरुसँग कुरा गर्दै यादवले मधेसका जनतालाई जात–जातमा लडाएर विद्वेष फैलाउने प्रयास गर्नेहरू नराम्ररी परास्त भएको बताए ।
उनले आफूलाई बाहिरिया भनेर प्रचार गरेकोमा पनि आक्रोश व्यक्त गर्दै ‘नेपालमा जन्मिएका कोही पनि नागरिक बाहिरिया हुन्छ ? नेपालमा जन्मिएका सबै नेपाली धर्तीपुत्र हुन् । अमेरिका र बेलायतबाट आएका पो बाहिरिया हुन् । नेपालभित्रका नेपाली बाहिरिया हुनै सक्दैनन् । तिनलाई बाहिरिया भन्नु नै गलत सोच र प्रदूषित मानसिकता हो ।’ भने ।
उनले आफूलाई जिताउनका लागि मत दिने तथा बाराका जनता सबैलाई बधाई र धन्यवाद दिए । उनले बाराको विकासको यात्रा सुरु भएको जिकिर गरे ।