बैशाख १३ बारा । बारा निर्वाचन क्षेत्र नम्बर २ मा भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन्।
आफ्ना प्रतिद्वन्द्वी जनमत पार्टी शिवचन्द्र कुशवाहालाई ५ हजार मतान्तरले हराउँदै यादवले विजयी भएका हुन्। अन्तिम मतपरिणाम अनुसार विजयी यादवले २८ हजार ४ सय १५ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका कुशवाहालाई २३ हजार ३ सय ३४ मत प्राप्त भएको छ।
विजयी यादव र निकटतम प्रतिद्वन्द्वी कुशवाहाबीचको मतान्तर ५ हजार ८ छ।
एमालेका पुरुषोत्तम पौडेललाई १० हजार २ सय १६ मत प्राप्त हुँदा रमेश खरेललाई २ हजार ८ सय २९ मत मात्र प्राप्त भएको छ। आम जनता पार्टीका अरुण ज्ञवालीले २ हजार ७ सय ३८ मत प्राप्त गरेका छन्।
जसपा नेता रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि यो निर्वाचन क्षेत्र खालि भएको हो। जसपाले कांग्रेस, माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी, एकिकृत समाजवादी लगायत सत्तागठबन्धनमा आवद्ध दलहरुको सहयोगमा यो क्षेत्र सुरक्षित गर्न सफल भएको छ।