काठमाडौँ, वैशाख १२।
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायाकाजी श्रेष्ठ र शहरी विकासमन्त्री सीता गुरुङको समुपस्थितिमा गोरखा भूकम्पको केन्द्रविन्दु बारपाकमा आज आठौँ भूकम्प स्मति दिवस मनाइएको छ ।
विसं २०७२ साल वैशाख १२ गते आजैका दिन ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाक केन्द्रविन्दु भएर ७ दशमलव आठ म्याग्निच्युटको गोरखा भूकम्प गएको थियो ।
उक्त दिन र त्यसपछि आएका भूकम्पले ठूलो धनजनको क्षति भएको थियो । आज त्यही दिनको सम्झनामा गोरखाको बारबाक सुलिकोट गाउँपालिकाको आयोजनामा विशेष कार्यक्रम गरिएको हो ।
उक्त समारोहमा गृहमन्त्री श्रेष्ठ र शहरी विकास मन्त्री गुरुङसहित गृहसचिव विनोद प्रकास सिंह, शहरी विकास सचिव सुरेश आचार्य, राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल, ससस्त्र र नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर र राजु अर्याललगायत सरकारी अधिकारीहरुको सहभागिता थियो ।
उपप्रधानमन्त्री एबं गृहमन्त्री श्रेष्ठको प्रमुख आतिथ्यता तथा शहरी विकास मन्त्री गुरुङ्को विशेष आतिथ्यतामा भएको भूकम्प स्मृति दिवस समारोहमा सहभागिहरुले शोकलाई शक्तिमा बदलेर यस्ता विपदबाट जोगिने उपायका विषयमा विशेष मन्थन गर्नुपर्ने जरुरी रहेको बताउनुभएको थियो । आजको दिनलाई विशेष सङ्कल्प गर्ने दिनको रुपमा सङ्कल्प गर्नुपर्ने दिनको रुपमा स्मरण गर्नुपर्नेमा उहाँहरुको जोड थियो ।
दिवस समारोहमा नेपाली काँग्रेसका प्रतिनिधि हरिबहादुर घलेले भूकम्प गएको दिनको सम्झनामा बनाउन लागिएको पार्क अहिलेसम्म सम्पन्न नहुनु विडम्बना भएको भन्दै मन्त्रीद्धयको ध्यानाकर्षण गराउनुभयो । उहाँले संयुक्त सरकार भए पनि देश कसरी अघि बढिरहेको छ भन्ने विषयमा गम्भिर हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिका सदस्य जीतबहादुर घलेले २०७ वैशाख १२ गते आजको दिन मुटु हल्लिरहेको दिन भएको स्मरण गर्दै त्यो दर्दनाक दिनलाई शक्तिमा बदलेर अघि बढेको बताउनुभयो । उहाँले आफुहरुले बाँच्न र हाँस्न सिक्नुपर्ने र अब बाँचेकाहरुका लागि विकास हुन जरुरी रहेको औँल्याउनुभयो ।
गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्ट, उपाध्यक्ष सनमायाँ गुरुङले यहाँको पार्क निर्माणलगायत अपुरा कामहरु पुरा गरी बाटो, विजुली, बस्ती विकास र पर्यटन विकासका कामलाई तिब्रता दिन उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठ र शहरी विकास मन्त्री गुरुङसँग अनुरोध पनि गर्नुभयो ।
उक्त समारोहमा राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका तर्फबाट गृहमन्त्री श्रेष्ठले बारपाकमा हुनसक्ने सम्भावित आगलागी नियन्त्रका लागि एउटा फायर पम्प हस्तान्तरण गर्नुभएको थियो ।
समारोहमा बारपाक सुलिकोट गाउँपालिकाबाट सगरमाथा आरोहण गर्ने २ आरोहीलाई सम्मान गरिएको थियो । यसका साथै बारपाक युके समाजले स्वास्थ्य चौकीको जग्गा खरिद र ल्याव सामग्रीका लागि गरेको योगदानको स्मरण गर्दै सम्मान गरिएको थियो । समाजले रु ५८ लाख सहयोग गरेको थियो ।
सोही समारोहमा गृहमन्त्री श्रेष्ठले खेलाडीहरुलाई भलिबल प्रदान गर्दै भुकम्प स्मृति कप भलिबलको उद्घाटन गर्नुभएको थियो । कार्यक्रमकै बीच गाउँपालिकाको वडा नम्बर १ र २ का जनप्रतिनिधिहरुले विकासका लागि भन्दै विभिन्न ४ बुँदे ध्यानाकर्षण पत्र पनि बुझाएका थिए । स्थानीयहरुका अनुसार बारपाकमा भूकम्प स्मृति पार्क अधुरो रहेको, ठेक्का भएको सडक कालोपत्रे नभइ अधुरै रहेको । विजुली लाइन पुगे पनि सबैमा पुगिसकेको जस्ता मागहरु तेर्साएका थिए ।
दिवस समारोहमा स्थानीय कलाकारहरुले आफ्नो मौलिक भेषभुषा पहिरिएर साङ्गीतिक प्रस्तुति दिएका थिए ।
बारपाकको विकासमा प्राथमिताका क्रम निर्धारण गरी अघि बढ्ने: गृहमन्त्री श्रेष्ठ
उक्त स्मृति दिवसका अबसरमा उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले सरकारले विपद्को क्षति न्युनिकरणमा आवश्यक कार्ययोजनाका साथ अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ ।
बारपार्क अफैँमा सुन्दर बस्ती रहेको र एक पटक आएपछि फेरि जाउँजाउँ लाग्ने बस्ती भएको स्मरण गर्दै उहाँले पर्यटकीय वस्तीमाथि भुकम्पपछाडि अन्तर्राष्ट्रिय रुपमा अरु थप चिनारी विकास भएको बताउनुभयो ।
हिजो यो संस्स्कृति र सुन्दरताका कारणले स्थापित थियो, वीर गोरखाली, भिक्टोरिया क्रस प्राप्त गर्ने नेपालीको छोरोको जन्मस्थलका रुपमा प्रख्यात थियो, अहिले विसं २०७२ को भूकम्पको केन्द्रन्दिुको थलोका रुपमा परिचित रहेको बताउनुभयो ।
अझै भूकम्पको पुनःस्थपानका बाँकी काम गर्नुपर्ने, पीडितहरुको समस्या अझै बाँकी रहेकाले समाधान गर्नुपर्ने, पार्कको निर्णणलाई पूर्णता दिने काम बाँकी रहेकाले पुरा गर्ने विश्वस दिलाउनुभयो ।
बारपाकलाई विकसित र समृद्ध बनाउन तथा महत्वपूर्ण पर्यटकीय केन्द्र बनाउन आवश्यक विकास र समिृतका अरु काम प्राथमिताका क्रम निर्धारण गरी अघि बढाउने पनि उहाँले बताउनुभयो । उहाँले कालोपत्रे र विजुली लगायतका काम अघि बढाउन पनि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले स्थानीय सडक निर्माण व्यवसायी र ठेकेदारले काम ढिलाइ गरिरहेको अबस्थामा छिट्टै पीच गरेर उत्तरी नाका खोल्ने आश्वासन पनि दिनुभएको छ । उहाँले रुइला भञ्याङ जोडेर उत्तरी चीनसम्म जोड्ने गरी काम अघि बढाउने बताउनुभयो । ढल निकासको निम्ति ठुलो समस्या रहेको स्मरण गर्दै उहाँले यो लगायत अस्पताल, शिक्षा, स्वास्थ्यका काममा अघि बढ्ने बताउनुभयो ।
राजनीतिक प्रसंग जोड्दै उहाँले अहिलो संविधानको कर्यान्वयनको चरणमा रहेको र नेपालीलाई सुखी र खुसी बनाउन सामाजिक, आर्थिक र समृद्धिको अभियानलाई पूर्णता दिन जरुरी छ भन्नुभयो । ‘हामी सन्तुष्ट छैनौँ धेरै मेहेनत गरेर काम गर्नुपर्छ भन्नेमा हामी प्रतिबद्ध छौँ ।’ गृहमन्त्री श्रेष्ठले थपनुभयो ।
राजनीतिक व्यवस्थाको परिवर्तनलाई माध्याम बनाएर शिक्षा, स्वास्थ्य, विजुली, खानेपनी, खेलकुद लगायत मानवीय जीवनका अधारभूत कुराहरु पुरा गरेर आम जनतालई नयाँ नेपालको अनूभूति दिनुपर्नेमा उहाँको जोड थियो ।
उहाँले नेपाल सम्भावना हुँदा हुँदै पनि प्रकृतिका कारण केही जोखिमयुक्त पनि रहेकाले वर्षा, बाढी र पहिरोको जोखिममा परेकाहरुलाई यसबाट बचाउन राम्रो तयारी गर्नुपर्ने र यसप्रति सरकार सचेत पनि रहेको बताउनुभयो ।
प्राकृतिक प्रकोप तथा विपदलाई शुन्य बनाउन नसक्ने तर जोखिमलाई कम गर्न सकिने उहाँको भनाइ थियो । जोखिमका असरलाई कसरी कम गराउने, घटनाबाट हुने क्षति कम कसरी गर्ने भने मानविय सचेत प्रयत्न गर्न पनि उहाँले सबैमा अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, ‘आजको यो सन्दर्भमा जोखिम कम गर्न नयाँ संकल्प गर्नुपर्छ, आवश्यक दिशातर्फको तयारमा लाग्नुपर्छ ।’
बारपाकमा बस्ती विकास कार्यक्रम ल्याउने ः शहरी विकास मन्त्री
शहरी विकासमन्त्री सिता गुरुङले बाटो, विद्युतका समस्याका लागि मन्त्रालयबाट आवश्यक पहल गर्ने बताउनुभयो ।
सबै ठाउँमा उत्तिकै विकास गर्न जरुरी छ, तर भूगोलका हिमाल, पहाड र तराई तीन खालको भूगोल भएकाले त्यही अनुसारको रणनीति नबनाई अघि बढ्न जरुरी रहेको पनि उहाँको भनाई थियो ।
उहाँले भन्नुभयो, ‘सडक निर्माण व्यवहारिक रुपमा बनाउँदैनौँ, ठुलाठुला घर बनाउँछौँ, विपद आउँदा बस्नका लागि खुला चौर चाहिन्छ भनेर हामी भन्दैनौँ यस्तै कारणले समस्स्य बढ्ने हो, त्यसैले मानव निर्मित विपद्लाई न्युनिकरणका लागि संयुक्त रुपमा समिक्षासहित अघि बढुनुपर्ने जरुरी छ ।’
उहाँले विकास निर्माणका सबै अवधारणमाथि छलफल गरेर अघि बढ्ने स्थानीयहरुलाई आश्वासन पनि दिनुभयो । उहाँले बारपाक आइपुग्दा छुट्टै परिभेषमा आइपुगेको महसुस भएको पनि बताउनुभयो ।
उहाँले बारपाकको पुननिर्माणका बाँकी काम पुरा गर्ने प्रतिबद्धता जनाउनुभयो । मन्त्री गुरुङले यहाँ स्मृति पार्कको बाँकी काम गर्ने जिम्ममा शहरी विकास मन्त्रालयकै हो र बनाउने आश्वासन पनि दिनुभयो ।
यहाँका भुकम्पमा प्रभावित नागरिकको नाम प्राप्त भएपछि त्यसको अभिलेख राख्ने र अन्य वातावरणीय असर पार्ने अधुरा योजना अघि बढाउन लागिपर्ने बताउनुभयो ।
वस्तीका सन्दर्भमा उहाँले घरहरु बाक्ला रहेको, विकास र वातावरणका हिसाबले व्यवस्थित हुन नसकेको बताउनुभयो । मन्त्रालयबाट वस्ती विकास कार्यक्रम कोसेलीका रुपमा अघि बढाउने बताउनुभयो ।
बारपाकलाई छुट्टै गन्तव्यका रुपमा विकास गर्दै नागरिकले सबै सेवा प्राप्त गर्न कुनै विरह गर्नुनपर्ने गरी विकास गर्न जरुरी रहेको उहाँले बताउनुभयो । मन्त्री गुरुङले नयाँ सोचका साथ शोकलाई शक्तिमा बदलेर अघि बढ्न पनि अनुरोध गर्नुभयो ।