बैशाख १२ काठमाण्डौँ । काँग्रेस परित्याग गरेर रास्वपा प्रवेश गरी चुनाव लडेका स्वर्णिम वाग्ले तनहुँमा निर्वाचित भएका छन् ।
वाग्लेले ३४ हजार ४ सय ८० मत ल्याउँदा भट्टराईले २० हजार ९२ मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा रहेका नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ५ सय ५५ मत प्राप्त गरेका छन्।
तनहुँ(१ मा १ लाख २३ हजार ३ सय ५ जना मतदाता छन्। आइतबार भएको उपनिर्वाचनमा ६५ हजारभन्दा बढी मत खसेको थियो। वाग्लेले कुल सदर मतको ५२ प्रतिशतभन्दा बढी हासिल गरेका छन्। दोस्रो स्थानमा रहेका भट्टराईले ३० प्रतिशत मत ल्याएका छन् भने खनालको मत प्रतिशत १३ छ।
गत मंसिर ४ को आमनिर्वाचनमा तनहुँ-१ मा कांग्रेसबाट रामचन्द्र पौडेल निर्वाचित भएका थिए। उनी राष्ट्रपति बनेपछि यहाँ उपनिर्वाचन गरिएको हो। मंसिरको निर्वाचनमा पौडेल २५ हजार ३ सय ६१ मत प्राप्त गरेर विजयी भएका थिए। त्यति बेला एमालेका एकबहादुर राना मगरले १९ हजार ९ सय ८१, स्वतन्त्र उम्मेदवारी दिएका गोविन्दराज जोशीले ६ हजार ८ सय ८६ र राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ६ हजार ४४ मत प्राप्त गरेका थिए।
यता चितवनमा रवि लामिछानेको जित निश्चित भएको छ । उनी अब गन्न बाँकी मत सबै अरुलाई जाँदा पनि बिजयी हुनेछन् ।
लामिछानेले ४० हजार ६९ मत ल्याउदाँ काँग्रेसका जित नारायण श्रेष्ठले ७ हजार ४ सय ५७ मत मात्र ल्याएका छन् । यसै गरी एमालेका राम प्रसाद न्यौपालेले ७ हजार २६८ मत मात्रै ल्याएका छन् ।
काँग्रेस र एमालेले यस अघिका उम्मेद्धारले जति मत ल्याउन समेत मुस्किल पर्ने देखिँदै गएको छ । यस पटक पनि चितवन २ मा काँग्रेस एमालेको लज्जास्पद हार हुने निश्चित देखिएको छ ।
बारा २ मा भने जसपाका उपेन्द्र यादव ३ हजार बढी मतको अग्रता बनाएर अघि बढीरहेका छन् । उनका निकटतम प्रतिद्धन्दी जनमतका शिवचन्द्र कुसवाहाले ६ हजार ७७१ मत प्राप्त गरेर पछ्याईरहेका छन् ।