बैशाख १० काठमाण्डौँ । बारा–२, चितवन–२ र तनहुँ–१ मा प्रतिनिधिसभा सदस्य चयनका लागि आज उपनिर्वाचन हुँदै छ ।
चितवन–२ मा ४३ मतदानस्थलमा १ सय ३८ मतदान केन्द्र छन् । चितवन–२ मा १ लाख २४ हजार ६ सय ९५ मतदाता छन् । यहाँ राजनीतिक दलका १२ र स्वतन्त्र १० उम्मेदवार छन् ।
तनहुँ–१ मा ६९ मतदानस्थलमा १ सय ५२ मतदान केन्द्र तोकिएको छ । मतदान गराउन ७ सय ६० कर्मचारी खटाइएको जिल्ला निर्वाचन कार्यालय प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । तनहुँ–१ मा १ लाख २३ हजार ३ सय ५ मतदाता छन् । तनहुँमा राजनीतिक दलका ९ उम्मेदवार छन् ।
आइतबार बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म निर्वाचन क्षेत्रमा पर्ने पृथ्वी राजमार्ग खण्ड र भित्री सडकमा सवारीसाधन पूर्ण रूपमा बन्द रहने भएको छ ।
बारा–२ मा निर्वाचनलाई निष्पक्ष र मर्यादित बनाउन भन्दै नेपाल–भारत ६५ किमि सीमानाका, जिल्लाभर प्रवेश गर्ने र बाहिरिने सम्पूर्ण नाका, मुख्य सडक, पूर्वपश्चिम राजमार्ग, सहायक राजमार्ग, पथलैया–वीरगन्ज सडकलगायतमा सुरक्षाकर्मी तैनाथ गरिएको छ । पूर्व–पश्चिम राजमार्ग र पथलैया–वीरगन्ज राजमार्गमा लामोदुरीका बाहेक अरू सवारीसाधन आइतबार बन्द गरिएको छ । बारा–२ मा १ लाख ५ हजार ११ मतदाताका लागि ८२ मतदानस्थलमा १ सय ३६ मतदान केन्द्र छन् । दलका ११ र स्वतन्त्र २३ जना गरी ३४ उम्मेदवार छन् ।