बैशाख ९ काठमाडौँ । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने भएका छन् । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक बाध्यताका कारण उनले आज विश्वासको मत लिन लागेका हुन् ।
अधिकारी गत पुस २५ गते एमालेसहित, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
केन्द्रमा एमालेसहितको गठबन्धन परिवर्तन भएपछि गण्डकीमा समेत गठबन्धन परिवर्तन भएको हो । गण्डकी प्रदेशमा गत चैत १० गते माओवादी केन्द्रले मुख्यमन्त्री अधिकारी नेतृत्वको सरकारबाट हटेर सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
गण्डकीमा नेपाली कांग्रेसका २७, नेकपा एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित आठ, राप्रपाका दुई र स्वतन्त्र एक सांसद छन् । आज मुख्यमन्त्रीले विस्वासको मत पाउने संभावना भने कम देखिन्छ ।