बैशाख ६ तनहुँ । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाख १० मा हुने उपनिर्वाचनबाट सत्ता गठबन्धनका साझा उम्मेदवार गोविन्द भट्टराईलाई जिताएर पठाउन अपिल गरेका छन्।
बुधबार तनहुँको डुम्रेमा भएको सभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले तनहुँ १ बाट भट्टराईलाई जिताएर पठाउन र त्यसपछि उनलाई आफूले मन्त्री बनाउने बाचा गरे ।
‘गोविन्द भट्टराईलाई मन्त्री बनाउने भनेर शेरबहादुर देउवाजीले भनिसक्नुभयो,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘अहिले म प्रधानमन्त्री छु, मन्त्री बनाउने मैले हो। शेरबहादुरजीले जिम्मा लिइसक्नुभयो म उहाँसँगै छु।’
यसअघि तनहुँ १ बाट रामचन्द्र पौडेल निर्वाचित भएका थिए। पौडेल राष्ट्रपति बनेपछि उपनिर्वाचन हुन लागेको हो। यो प्रसँगमा प्रधानमन्त्री दाहालले भने, ‘रामचन्द्र पौडेल प्रधानमन्त्री बन्नुहुन्छ भनेर मैले यहाँ भनेको थिएँ। मेरो भनाइ खेर गएन, उहाँ महामहिम राष्ट्रपतिमा निर्वाचित हुनुभयो।’
उनले सत्ता गठबन्धनका उम्मेदवार भट्टराईलाई अत्याधिक मतले जिताएर पठाउनुपर्ने समेत बताएका थिए।
‘त्याग र तपस्याका कीर्तिमान बनाउनुभएको योग्य उम्मेदवार गोविन्द भट्टराई हो,’ उनले भने। उनले मतदाताहरूमा कुनै किसिमको पनि द्विविधा नराख्न आग्रह गरेका छन्।
यसै गरी काँग्रेस सभापति शेर बहादुर देउवाले पनि भट्टराईलाई जिताउन अपील गर्दै मन्त्री बनाउने सुनाए । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि भट्टराईलाई जिताउनुको विकल्प नरहेको बताए । आज तनहुँमा गठबन्धनले चुनावी सभाको आयोजना गरेको थियो । जसमा गठबन्धन दलका शीर्ष नेता सहभागी भएका थिए ।