काठमाडौँ चैत्र २९। नेकपा एमालेका महासचिव शंकर पोखरेलले संविधानमा हस्ताक्षर नै नगर्ने पार्टीहरुसँग सहकार्य गर्ने दलहरुले एमालेले संविधान नै मानेन भन्नु लज्जाको विषय भएको बताएका छन् ।
बुधवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले संविधान नमान्ने पार्टीहरुसँग सहकार्य गर्ने दलहरुले एमालेले संविधान नै मानेन भन्दै आरोप लगाउनुको कुनै अर्थ नरहेको जिकिर गरे महासचिव पोखरेलले सिंगो आन्दोलनलाई संविधानवादको जञ्जालभित्र राखेर व्याख्या गर्ने कामको कोशिस भइरहेको बताए ।
उनले घोषित रुपमा संविधान नै नमान्ने पार्टीहरुसँगको सहकार्यले संसदीय मूल्य, मान्यतामाथि प्रहार गरिरहेको बताए ।
क्रान्तिकारीका लागि संविधान भनेको नै अघि बढ्नका लागि सह्य हुन्छ भने मान्ने हो, सैह्य हुँदैन भने बदल्ने हो ।’ पोखरेलले भने । महासचिव पोखरेलले नेकपा एमालेले संविधान नै मान्दैन भनेर आरोप लगाउनु जति मजाकको विषय अरु हुनै नसक्ने समेत बताए ।
पोखरेलले भने– ‘जसले घोषित रुपमा संविधान नै मान्दैन, उनीहरुसँग सहकार्य गर्ने, संसदीय मूल्य, मान्यताभित्र अभ्यासमा रहेको चिजलाई अभ्यास गर्ने सन्दर्भमा प्रहार गर्ने । जनताको जनादेश खण्डित भएपछि फेरि जनतामा जानुपर्छ भन्ने लोकतन्त्रको विशेषता हो । त्यो विशेषतामाथि प्रहार गर्ने, संविधानमा हस्ताक्षर नगरेका दलहरुसँग सहकार्य गर्ने । हामीमाथि के आरोप लगाउने भन्दा यिनले त संविधान मान्दैनन् भनेर आरोप लगाउने ?
महासचिव पोखरेलले नेपालको राजनीतिमा मुख्य दलहरु भनेको नेकपा एमाले र नेपाली कांग्रेस मात्रै रहेको दाबी गर्दै सम्पूर्ण वामपन्थी शक्ति भनेकै नेकपा एमाले रहेको बताए ।