चैत्र २६ काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले समृद्धिको लक्ष्य हासिल गर्न सरकार गम्भीर रुपमा लागि परेको बताएका छन् । तनहुँको दमौलीमा आइतबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले अहिलेको कार्यभार आर्थिक समृद्धि रहेको र त्यसतर्फ सरकार गम्भीर रहेको उल्लेख गरे ।
“अर्थतन्त्र उकास्नका लागि सरकार कार्ययोजना सहित अगाडि बढ्छ”, उपप्रधानमन्त्री श्रेष्ठले भने । अर्थतन्त्रमा केही समस्या देखापरेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले यसलाई लयमा ल्याइने बताए।
“प्रधानमन्त्रीज्यूको विशेष पहलकदमीमा यही चैत २९ गते यस विषयमा बृहत् छलफल गर्दैछौँ ।” मन्त्री श्रेष्ठले भने ।
अर्थतन्त्रको वर्तमान अवस्था, समस्या र समाधानका लागि ठोसरुपमा के गर्नुपर्छ त्यसतर्फ सरकारले प्रयास गरिरहेको उपप्रधानमन्त्री श्रेष्ठले बताए ।