काठमाडौं, २३ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्याक्तिगत गालिगलौज भन्दा एजेन्डामाथि बहस हुन जरुरी रहेको बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले राजनीतिलाई सही बाटोमा लैजान एजेण्डा केन्द्रित बनाउनुपर्ने बताए ।
बिहीबार सामाजिक सञ्जालमार्फत युवामय उपचुनाव भएको उल्लेख गर्दै ओलीले उम्मेदवारहरूमा नयाँ र युवा अनुहार देखिनु खुसीको कुरा भएको बताएका छन्। ‘वैशाख १० गते उपनिर्वाचनमा भाग लिने उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुँदैछ। धेरैजसो उम्मेदवारहरूमा नयाँ र युवा अनुहार देखिरहेको छु, यो खुसीको कुरा हो। उपनिर्वाचनलाई स्वस्थ र मर्यादित बनाउन व्यक्तिगत गालीगलौज नगरी एजेण्डामा आधारित बहस गर्न म आग्रह गर्दछु।’
ओलीले भनेका छन्,‘मैले गत आम निर्वाचनका क्रममा पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीलाई बहसका निम्ति आउन आह्वान गरेको थिएँ, त्यसबेला मेरो प्रयास सफल भएन।’
ओलीले उपनिर्वाचनलाई स्वस्थ र मर्यादित बनाउन व्यक्तिगत गालीगलौज नगरी एजेण्डामा आधारित बहस गर्न आग्रह गरेका छन्। उनले चुनावी मैदानमा उत्रिएका उम्मेदवारलाई शुभकामना समेत दिएका छन्। बारा २, तनहुँ १, चितवन २ मा बैशाख १० गते उपनिर्वाचन हुँदैछ।