चैत ११, काठमाडौँ । सत्तारुढ दल नेकपा माओवादी केन्द्र पदाधिकारी बैठकमा मन्त्रिपरिषद् विस्तार र संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई टुंगो लगाउने विषयमा छलफल भएको छ ।
माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकमा संसद्लाई प्रभावकारी बनाउने, मन्त्रिपरिषद् विस्तार र पार्टीलाई अगाडि बढाउने विषयमा छलफल भएको हो ।
सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्नेबारे छलफल भएको माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले बताए । उनले सत्तारुढ गठबन्धनमा सहभागी राजनीतिक दलहरूसँग प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालले छलफल गरेर मन्त्रिपरिषद् विस्तारलाई टुंगोमा पुर्याउनेबारे छलफल भएको हो ।
पदाधिकारी बैठकमा मन्त्रिपरषद् विस्तार बढीमा पर्सि सोमबारसम्म गर्ने भन्ने बिषयमा छलफल भएको भन्दै उनले भने, मन्त्रिपरिषद् विस्तारको काम अल्झिएको छैन । प्रधानमन्त्रीलाई गठबन्धनमा रहेका दलहरूले एक्लाएक्लै छलफल गरेर प्रस्ताव तयार गर्न भन्नुभएको थियो । प्रस्ताव तयार भएको र आइतबार वा सोमबार बैठक बसेर मन्त्रिपरिषद् विस्तार हुन्छ ।
पदाधिकारी बैठकमा संसद्लाई प्रभावकारी रूपमा अगाडि बढाउने विषयमा पनि छलफल भएको पौडेलले बताए ।
त्यस्तै, सरकारका कामसँग पार्टीलाई जोड्ने विषयमा पनि छलफल भएको पौडेलको भनाइ थियो । गठबन्धनलाई साथमा लिएर जनताले उठाएको जनसरोकारका विषयहरू पार्टीसँग जोडेर पार्टी र सरकारलाई सँगै लिएर जाने छलफल भएको उनले बताए ।
प्रदेशका सरकारहरूमा आलोपालो गर्ने तथा संघीय सरकारको नीति तथा कार्यक्रमसँग जोडेर प्रदेश सरकारलाई पनि गतिशील बनाउने गरी अघि बढ्नेबारेमा माओवादीमा छलफल भएको हो ।