काठमाडौं, २ चैत ।
नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीले उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग शीष्टाचार भेटवार्ता गर्नुभएको छ । उहाँहरूबीच बिहीबार मन्त्रालयमा भेटवार्ता भएको हो ।
भेटवार्ताका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले दूरीका हिसाबले बंगलादेश नेपालको तेस्रो नजिकको छिमेकी मित्रराष्ट्र भएको बताउनुभयो । उहाँले दुवै कम विकसित राष्ट्र भएकाले मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।
सो क्रममा उपप्रधानमन्त्री श्रेष्ठले कतारमा भएको अति कम विकसित मुलुकको सम्मेलनका क्रममा बंगलादेशका प्रधानमन्त्रीसँग आफूले भेटवार्ता गरेको पनि स्मरण गर्नुभयो । उहाँले बंगलादेश र नेपाल नजिकका र पुराना मित्रराष्ट्र भएको उल्लेख गर्नुभयो ।
भेटवार्ताका क्रममा राजदूत चौधरीले पनि नेपाल आफूहरूको नजिकको मित्रराष्ट्र भएको उल्लेख गर्नुभएको थियो । आफू नेपालमा राजदूत भएर आएको दुई वर्ष भइसकेको उल्लेख गर्नुहुँदै राजदूत चौधरीले त्यसक्रममा नेपाल र नेपाली आफूलाई धेरै मन परेको बताउनुभयो ।
उहाँले बंगलादेशको राष्ट्रिय दिवस (नेसनल डे) को अवसरमा २० मार्चमा हुने कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुन उपप्रधानमन्त्री श्रेष्ठलाई आग्रह पनि गर्नुभयो । उक्त कार्यक्रम नेपालस्थित बंगलादेशी दूतावासले आयोजना गर्ने उहाँले जानकारी दिनुभयो ।