२९ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक पदहरुमा राजनीतिक दलहरुको शक्ति सन्तुलन मिलेकाले आफूलाई खुसी र गर्व लागेको प्रतिकृया दिएका छन् ।
उनले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष लगायतका संवैधानिक पदहरुमा फरकफरक राजनीतिक दलहरुको प्रतिनिधित्व भएको भन्दै यसले आफूलाई गर्वको महसुस गराएको बताए ।
आज नेपाल नगरपालिका संघको ३० औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यो सन्तुलन कायम गर्ने प्रक्रियामा आफूले भूमिका खेल्ने अवसर पाएको भन्दै प्रचण्डले भने, ‘तत्काल त कसैलाई अलि नमिठो लागेको हुनसक्छ । कसैलाई अलि बढी मिठो लागेको हुन पनि सक्छ । तर समग्रमा हेरियो भने एउटा सन्तुलन कायम गरिएको छ । ’
उनले अब विकास र समद्धितिर गतिशिल भएर लाग्नु पर्ने समय आएको र अब सरकारले सोही अनुरुप ऐन नियम बनाउने बताए ।