काठमाडौँ फागुण २७ । उपराष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गराएका जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादवको उम्मेदवारी संविधान र कानुनविपरीत रहेको भन्दै नेकपा एमालेले उजुरी दिएको छ ।
एमाले सांसद महेश बर्तौलाले नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गरेका हुन् । राष्ट्रपतिमा पुरुष निर्वाचित भइसकेकाले उपराष्ट्रपति पनि पुरुष हुन नहुने भन्दै एमालेले जसपाका उम्मेदवार यादवविरुद्ध उजुरी दिएको हो ।
नेपालको संविधानको धारा ७० ले राष्ट्रपति र उपराष्ट्रपति फरक(फरक लिंग वा समुदायको हुनुपर्ने व्यवस्था गरेकोको अवस्थामा बिहीबार नै राष्ट्रपतिमा पुरुष निर्वाचित भइसकेको, राष्ट्रपति पदमा खसआर्य समुदायबाट पुरुष निर्वाचित भइसकेको अवस्थामा उपराष्ट्रपति पदमा खसआर्य समुदायको पुरुषबाहेक मात्र उम्मेदवार हुनसक्छ । त्यसैले सो पदमा पुरुष उम्मेदवार हुन सक्दैन र समानुपातिक समावेशी प्रतिनिधित्वको व्यवस्थाबमोजिम राष्ट्रपति पुरुष बनिसकेकाले महिलालाई उपराष्ट्रपति पदमा उम्मेदवार मनोनयन हुने व्यवस्था मिलाउन संविधान, कानुन र समावेशीकरणको सिद्धान्तअनुरुप अनिवार्य रहेको उजुरीमा उल्लेख छ ।
यद्यपि जसपाबाट उम्मेदवारी दिएका यादवको नाममा शुक्रबार नै प्रश्न उठ्न थालेपछि जसपाबाटै प्रमिला यादवले पनि उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी छन् ।