फागुण २६ काठमाण्डौँ । उपराष्ट्रपतिमा महिला उम्मेदवार नै चाहिने अडान निर्वाचन आयोगले लिएपछि गठबन्धन दलहरु उम्मेद्धार चयनमा संकटमा परेका छन । खास गरी उपराष्ट्रपतिमा जसपालाई दिने लगभग सहमति नजिक रहेका बेला महिला उम्मेद्धार हुनु पर्ने आयोगले निर्देशन दिएको थियो ।
त्यसपछि जनता समाजवादी पार्टी नेपालका नेताहरु निर्वाचन आयोगमा पुगेका छन्। जसपा केन्द्रीय कार्यकारिणी सदस्य प्रकाश अधिकारीसहितका नेताहरु शुक्रबार दिउँसो आयोग पुगेर प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई भेटेका हुन्।
उनीहरुले संविधानले पनि राष्ट्रपतिमा एउटा समुदायको व्यक्ति निर्वाचित भइसकेपछि उपराष्ट्रपतिमा अर्को समुदायबाट पुरुष नै उठाउन दिएको तर्क गरेका थिए।
जसपा नेताहरु निर्वाचन आयोगमै पुगेका दिन शुक्रबार प्रमुख आयुक्त थपलियालाई नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुलेसमेत फोन गरेका थिए।
सिंहदरबारमा सत्तारुढ गठबन्धन दलले गठन गरेको कार्यदल बैठकस्थलबाटै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले थपलियालाई फोन गरेका थिए ।
सत्ता गठबन्धनका नेताहरु कसैले फोन गरेर त कसैले भेटेरै दबाब दिए पनि थपलियाले उम्मेदवारी लिने नलिने निर्णय आफूहरुले गर्ने सुनाएका थिए ।
थपलियाले लेखकलाई पनि उपराष्ट्रपतिमा महिला नै हुँदा उचित हुने बताएपछि गठबन्धन बैठक पनि बिनानिष्कर्ष सकिएको छ। गठबन्धनका संभावित उम्मेद्धार जसपाका सांसद राम सहाय प्रसाद यादवलाई प्रस्ताव गरिएको थियो । यस विषयमा गठबन्धनले भोली निर्णय गर्ने छ भने एमालेले पनि भोली उम्मेद्धार चयन गर्न सचिवालयको बैठक बोलाएको छ ।