फागुण २३ काठमाण्डौँ । ८ दलले संघीय तथा प्रदेश सभा सांसदहरूलाई आ–आफ्नो पार्टीभित्र आन्तरिक रूपमा प्रशिक्षण दिने निर्णय गरेका छन्।
आज सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको ८ दलले गठन गरेको कार्यदलको बैठकले राष्ट्रपति निर्वाचनमा मतदान गर्ने तरिकालगायत विषयमा आन्तरिक रूपमा प्रशिक्षण दिने निर्णय गरेको हो।
‘सबै मतदातालाई प्रशिक्षित गर्ने कुरा भएको छ। मौन अवधि रहेकोले आ–आफ्नो पार्टीभित्र सांसदहरूलाई राष्ट्रपति चुनावमा कसरी मतदान गर्नेलगायतबारे जानकारी गराइन्छ,’ बैठकमा सहभागी जसपा नेता राजेन्द्र श्रेष्ठले भने ।
कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलले बुधबार बिहान ११ बजेसम्म प्रदेश सभा सांसदहरू तथा संघीय सांसदहरूलाई काठमाडौं आइसक्न पनि निर्देशन दिने निर्णय गरेको छ। राष्ट्रपति चुनावमा राष्ट्रिय सभा सदस्य, प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य मतदाता हुन्छन्।
यही फागुन २५ गते राष्ट्रपति निर्वाचनका लागि मतदान हुँदैछ। ८ दलबाट कांग्रेस नेता रामचन्द्र पौडेल र नेकपा एमालेबाट नेता सुवास नेम्वाङ राष्ट्रपति पदका लागि उम्मेदवार छन्।