काठमाडौं १९, काठमाडौँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ शुक्रबार दोहा प्रस्थान गरेका छन् । कतारको दोहामा हुने अतिकम विकसित मुलुकहरू (एलडीसी)को सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री श्रेष्ठ नेतृत्वको टोली शुक्रबार बेलुकी त्यसतर्फ गएको हो ।
भ्रमण टोलीमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठ, सांसद जितेन्द्रनारायण देव, नेपाल सरकारका सचिवहरु गणेशप्रसाद पाण्डे, मधुकुमार मरासिनी, केवलप्रसाद भण्डारी र स्वकीय सचिव सुरेशकाजी श्रेष्ठलगायत छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भ्रमण स्थगित भएपछि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री श्रेष्ठलाई सम्मेलनमा भाग लिन पठाउने निर्णय गरेको थियो ।

श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डल २३ गते स्वेदश फर्कने कार्यक्रम छ । एलडीसी राष्ट्रहरूको सम्मेलन यही मार्च ५ देखि मार्च ९ सम्म कतारको दोहामा आयोजना हुँदैछ । पाँचौँ राष्ट्रसंघीय सम्मेलनमा सम्भावनादेखि समृद्धिसम्म विषयमा बहस हुँदैछ । विश्वका अति कम विकसित देशहरू सन् २०३० सम्ममा दिगो विकासका लक्ष्यहरू हासिल गर्ने दौडमा रहेका छन् ।
राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनको तयारीलगायत कारणले प्रधानमन्त्रीको शुक्रबार कतार जाने कार्यक्रम स्थगित गरिएको हो ।